चेपाङ समुदायको पहिचानदेखि मनग्गे आम्दानीको माध्यम
चितवन। चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन स्थलमा यतिबेला राजनीतिक सरगर्मीसँगै स्थानीय उत्पादनको व्यापारले पनि निकै चर्चा पाएको छ।
महाधिवेशनका कारण मानिसको चहलपहल हुँदा चितवनको पहाडी भेकका स्थानीय तथा चेपाङ समुदायले रैथाने उत्पादन ‘चिउरी’ को राम्रो व्यापार गरिरहेका छन्।
चेपाङको बसोबास रहेको चितवनका पहाडी क्षेत्र चिउरी उत्पादनका लागि प्रख्यात मानिन्छन्। चेपाङ समुदायको जीवनशैली र पहिचानसँग जोडिएको यो चिउरी स्थानीय बासिन्दाले आफैँ संकलन गरेर बजारसम्म ल्याउने गर्छन्। महाधिवेशनको अवसर पारेर नारायणगढको मन्डी तथा अन्य संकलन केन्द्रहरूबाट व्यापारीहरूले चिउरी खरिद गरी महाधिवेशन स्थलवरपर बिक्री गरिरहेका छन्।
चिउरी विशेषगरी नेपालको महाभारत पर्वत शृंखलाका पहाडी र भित्री मधेसका क्षेत्रमा फल्ने गर्छ। जेठ र असारको गर्मीमा यो फल पाक्छ। गर्मी मौसममा चिउरी खानु स्वास्थ्यका लागि लाभदायक मानिन्छ। यसले शरीरलाई शीतलता प्रदान गर्नुका साथै ऊर्जासमेत दिन्छ। यसको दानाबाट बहुउपयोगी घिउ (चिउरीको घिउ) समेत निकालिन्छ। जुन औषधीय गुणले युक्त हुन्छ।
कति भइरहेछ व्यापार?
महाधिवेशन स्थलमा प्रतिकेजी १०० रुपैयाँमा खरिद गरिएको चिउरी ग्राहकको रोजाइ र बजारको मागअनुसार प्रतिकेजी १२०, १३० देखि बढीमा १५० रुपैयाँसम्ममा बिक्री भइरहेको छ।
महाधिवेशनको छोटो अवधिमै एकैजना व्यवसायीले झन्डै ९० केजी (पहिलो दिन ५० केजी र दोस्रो दिन ४० केजी) सम्म चिउरी सहजै बिक्री गरिसकेको बताएका छन्। राजनीतिक जमघटले यसरी स्थानीय र सीमान्तकृत समुदायको रैथाने उत्पादनलाई बजार प्रवर्द्धन गर्न टेवा पुर्याएको देखिन्छ।
यद्यपि महाधिवेशनस्थल परिसरमा सुरक्षाको कारण देखाउँदै यस्ता व्यापारमा कडाइ गरिएको छ।
हेर्नुहोस् थप तस्बिर :
