काठमाडौँ। काठमाडौँ महानगरपालिका ६ स्थित चारित्रिक विल्डर्स प्रालिकी सञ्चालिका सविता कार्की पक्राउ परेकी छन्।
आठ करोड ५० लाख रुपैयाँको कर्जा दुरुपयोग आरोपमा अदालतबाट तीन वर्ष कैद सजाय पाएकी कार्कीलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको हो।
कार्कीलाई मंगलबार काठमाडौँको गोकर्णेश्वर नगरपालिका ४ बाट पक्राउ गरिएको ब्युरो प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक अनुपमशमशेर जबराले बताए।
कार्कीविरुद्ध उच्च अदालत पाटनले २९ वैशाख २०७१ मा तीन वर्ष कैद र आठ लाख ५० हजार रुपैयाँ जरिवाना हुने ठहर गरेको थियो। कार्कीले चारित्रिक विल्डर्सको नाममा कम्पनी खडा गरेर व्यवसाय सुरु गरेकी थिइन्। उक्त कम्पनीमा बनावटी कागजातका आधारमा क्यापिटल मर्चेन्ट बैकिङ तथा फाइनान्स लिमिटेडका पदाधिकारी, कर्मचारीलाई प्रभावमा पारी कर्जा रकम निकासा गराएको आरोप थियो।
कर्जा रकम उक्त परियोजनामा खर्च नगरी दुरुपयोग गरेको आरोपमा राष्ट्र बैंकले कार्कीविरुद्ध जाहेरी दिएको थियो। कार्कीलाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालत पठाइएको छ।