काठमाडौँ
००:००:००
१० असार २०८३, बुधबार

राजनीति

२० असारको समयसीमाले कांग्रेसभित्रको सदस्यता अद्यावधिक विवाद निर्णायक मोडतिर

१० असार २०८३
नेपाली कांग्रेसका नेताहरू क्रमश: शेखर कोइराला, गगन थापा र शेरबहादुर देउवा।
अ+
अ-

क्रियाशील सदस्यता अद्यावधिकको विवाद चर्किरहेका बेला नेपाली कांग्रेसले २० असारभित्र प्रक्रिया पूरा गर्न फेरि ताकेता गरेको छ। पार्टी केन्द्रीय कार्यालयले बुधबार सूचना जारी गर्दै नवीकरण, अद्यावधिक, स्थानान्तरण, नयाँ क्रियाशील सदस्यता वितरण र जनसम्पर्क समितिहरूको सदस्यता व्यवस्थापनसम्बन्धी बाँकी काम २० असारभित्र पूरा गर्न आग्रह गरेको हो।

कांग्रेसले यसलाई ‘क्रियाशील सदस्यता व्यवस्थापन तालिका’ भनेको छ। तर, १५औँ महाधिवेशनको प्रतिनिधि छनोट र शक्ति-सन्तुलन सदस्यता अद्यावधिकसँगै जोडिएकाले यो समयसीमाले पार्टीभित्रको विवाद झन् तीव्र बनाएको छ।

कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार २० असारपछि सदस्यता अद्यावधिकको समय थपिनेछैन। “यो अन्तिम पटक हो। यसपछि सदस्यता अद्यावधिकको समय थपिँदैन,” दुलाल भन्छन्, “जो आउनुहुन्न, उहाँहरू पार्टीको सदस्य रहनुहुन्न।”

कांग्रेसले गत २ जेठदेखि सदस्यता नवीकरण, नयाँ सदस्यता वितरण र अद्यावधिक प्रक्रिया सुरु गरेको थियो। पहिलो चरणमा २१ जेठसम्म समय तोकिएको थियो। त्यसपछि समय थपेर २८ जेठ मध्यरातिसम्म पुर्‍याइयो। त्यस अवधिमा पनि प्रक्रिया पूरा नभएपछि ३१ जेठमा फेरि ७ असारसम्म समय थपिएको थियो। अहिले २० असारको समयसीमा तोकिएको हो। दुलालका अनुसार अद्यावधिक भएका सदस्यहरूको विवरणमा त्रुटि भए सच्याउने समय असार मसान्तसम्म दिइनेछ।

२८ जेठभित्र सदस्यता अद्यावधिक गर्न छुटेकाहरूलाई स्वयम् अद्यावधिक गर्न २० असारको समय दिइएको छ।

सदस्यता व्यवस्थापन केन्द्रीय समितिको निर्णयअनुसार अद्यावधिक, नवीकरण र नयाँ सदस्यता वितरणमा सहजीकरण गर्न कांग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ। उनीहरूसँग सम्पर्क हुन नसके केन्द्रीय कार्यालयमा सिधै सम्पर्क गर्न सकिने दुलालले जानकारी दिएका छन्।

जारी सूचनामा सदस्यता सम्बन्धमा विभिन्न आठ बुँदा स्मरण गराइएको छ। त्यसमा २८ जेठभित्र सदस्यता अद्यावधिक गर्न छुटेकाहरूलाई स्वयम् अद्यावधिक गर्न २० असारको समय दिइएको छ।

नयाँ क्रियाशील सदस्यता वितरण, १४औँ महाधिवेशनमा स्थगन भएका सदस्यहरूको नवीकरण र अद्यावधिक, स्थानान्तरण भएका सदस्यहरूको अद्यावधिक, नेपाली जनसम्पर्क समितिहरूको सदस्यता अद्यावधिक एवम् नयाँ क्रियाशील सदस्यता वितरण र कांग्रेसमा समाहित भएका तथा पार्टी प्रवेश गरेकाहरूको सदस्यता प्राप्तिका लागि पनि सोही समय स्मरण गराइएको छ।

दुलालका अनुसार नयाँ क्रियाशील सदस्यता वितरणमा ३५ वर्षमुनिका युवाको प्रतिनिधित्व बढाउने नीति लिइएको छ। कांग्रेसमा हाल सात लाख ८२ हजार क्रियाशील सदस्य छन्। तीमध्ये अहिलेसम्म ६ लाख ८७ हजारले सदस्यता अद्यावधिक गरेको दुलालको दाबी छ।

महामन्त्री प्रदीप पौडेल भने २० असार नयाँ समयसीमा नभई पुरानै म्यादको स्मरण भएको बताउँछन्। भन्छन्, “यो पुरानै डेडलाइन हो। स्मरण मात्रै गराइएको हो। कोही पनि नछुटून् भनेर अद्यावधिक नगरेकाहरूलाई फेरि सुसूचित गरिएको हो।”

अद्यावधिक नगर्नेबारे केन्द्रीय समितिले निर्णय गर्ने

कांग्रेसमा सदस्यता अद्यावधिकको विवाद २७ पुसमा सम्पन्न विशेष महाधिवेशनपछि चर्किएको हो। विशेष महाधिवेशनले विधान संशोधन गर्दै धारा ४ को उपधारा १४ मा विशेष व्यवस्था थपेको थियो। त्यसअनुसार केन्द्रीय कार्यसमितिले एक पटकका लागि पार्टीमा आबद्ध सबै सदस्यलाई पुनः क्रियाशील सदस्यताको फाराम भर्न लगाउन सक्ने व्यवस्था गरेको छ।

सोही व्यवस्थाअनुसार कांग्रेसले सदस्यताको अभिलेख अद्यावधिक गर्ने र प्रक्रिया पूरा गरेका सदस्यलाई ‘एनसी आईडी’ दिने तयारी गरेको छ। १५औँ महाधिवेशनअघि सदस्यता व्यवस्थापनलाई व्यवस्थित बनाउन यो व्यवस्था ल्याइएको संस्थापन पक्षको दाबी छ।

देउवा पक्षले १४औँ महाधिवेशनबाट निर्वाचित समिति र विशेष महाधिवेशनबाट निर्वाचित समितिबीच समायोजन गर्नुपर्ने माग पनि अघि सारेको छ। तर, संस्थापन पक्ष ती मागप्रति लचक देखिएको छैन। विवाद समाधानका लागि दुवै पक्षबीच औपचारिक संवादसमेत हुन सकेको छैन।

दुलालका अनुसार २० असारभित्र अद्यावधिक गर्नेहरूले मात्रै एनसी आईडी पाउनेछन्। अद्यावधिकमा छुटेकाहरू पन्ध्रौँ महाधिवेशनको सबैभन्दा तल्लो निकाय वडा अधिवेशनमै छुट्ने जोखिममा पर्नेछन्। “विधान सबैले मान्नुपर्छ,” दुलाल भन्छन्, “नागरिकले संविधान मान्दिनँ भन्न मिल्दैन भने जस्तै पार्टीका सदस्यले विधान मान्दिनँ भन्न मिल्दैन। अद्यावधिक नगर्नेलाई अन्तिम समय दिइएको छ।” अद्यावधिक नगर्नेहरूको हकमा केन्द्रीय समितिले निर्णय गर्ने दुलाल बताउँछन्।

महामन्त्री पौडेल भने राजनीतिक कारणले छुटेकाहरूलाई समेट्नकै लागि समय थप्दै लगिएको बताउँछन्। “कसैलाई पनि अद्यावधिकबाट छुटाउने उद्देश्य छैन,” उनी भन्छन्, “राजनीतिक कारणले रोकिएकालाई समेट्ने प्रयास भइरहेको छ।”

देउवा-कोइराला पक्षको असहमति

पार्टीभित्र संस्थापन इतर धार भने सदस्यता अद्यावधिक प्रक्रियाप्रति असहमत छ। विशेष महाधिवेशनमा सहभागी नभएका निवर्तमान सभापति शेरबहादुर देउवा र मध्यमार्गी नेता शेखर कोइराला पक्षले सदस्यता अद्यावधिक अभियानमा सक्रिय सहभागिता जनाएको छैन।

उनीहरूको अडान छ– अद्यावधिकलाई अनिवार्य सर्त बनाउन मिल्दैन। १४औँ महाधिवेशनपछि गरिएको सदस्यता नवीकरणलाई नै अद्यावधिकसरह मान्नुपर्ने उनीहरूको तर्क छ।

देउवा पक्षले १४औँ महाधिवेशनबाट निर्वाचित समिति र विशेष महाधिवेशनबाट निर्वाचित समितिबीच समायोजन गर्नुपर्ने माग पनि अघि सारेको छ। तर, संस्थापन पक्ष ती मागप्रति लचक देखिएको छैन। विवाद समाधानका लागि दुवै पक्षबीच औपचारिक संवादसमेत हुन सकेको छैन।

कांग्रेसले असोजभित्र १५औँ महाधिवेशन गर्ने तयारी गरेको छ। त्यसअघि सदस्यता अद्यावधिकको विवाद समाधान नभए महाधिवेशनको वैधता, प्रतिनिधित्व र शक्ति-सन्तुलनमै प्रश्न उठ्ने जोखिम बढ्नेछ।

यसैबीच सभापति गगन थापाले मंगलबार झापामा आयोजित कार्यक्रममा सदस्यता अद्यावधिक नगर्ने नेता-कार्यकर्तालाई लक्षित गर्दै कडा चेतावनी दिएका थिए। उनले व्यक्तिगत रूपमा आफूले चिने पनि पार्टीले अद्यावधिक नगरेकाहरूलाई नचिन्ने बताएका थिए।

थापाको अभिव्यक्तिपछि कांग्रेस केन्द्रीय कार्यालयले २० असारको समयसीमा फेरि स्मरण गराएको हो। यसले सदस्यता विवादमा नेतृत्व र इतर समूहबीचको अविश्वास थप बढेको देखिन्छ।

देउवा-कोइराला समूहले नयाँ समयसीमाबारे औपचारिक प्रतिक्रिया दिएको छैन। ३१ जेठको भेलापछि विराटनगरमै रहेका कोइराला सदस्यता अद्यावधिकको समयसीमा फेरि सार्वजनिक भएपछि काठमाडौँ फर्केर आफ्नो समूहसँग छलफल गर्ने तयारीमा रहेको नेताहरू बताउँछन्।

कांग्रेसले असोजभित्र १५औँ महाधिवेशन गर्ने तयारी गरेको छ। त्यसअघि सदस्यता अद्यावधिकको विवाद समाधान नभए महाधिवेशनको वैधता, प्रतिनिधित्व र शक्ति-सन्तुलनमै प्रश्न उठ्ने जोखिम बढ्नेछ।