काठमाडौँ
००:००:००
१२ असार २०८३, शुक्रबार

१२ असार २०८३
अ+
अ-

काठमाडौँ। नेपाल फिल्म क्याम्पसको प्रस्तुतिमा नाटक ‘संशय’ मञ्चन हुने भएको छ।

अमेरिकी नाटककार जोन प्याट्रिक शेन्लीको सन् २००४ को प्रसिद्ध नाटक ‘डाउट : अ प्यारावल’ मा आधारित यस नाटकलाई दिपल बरालले अनुवाद तथा निर्देशन गरेका हुन्। नाटकमा नेपाल फिल्म क्याम्पसका विद्यार्थी सलोनी कार्की, निर्जना महरा, आकाश चौधरी र काफ्नी थापाको अभिनय छ।

शेन्लीको यस नाटकले पुलिट्जर प्राइज, टोनी अवार्डजस्ता प्रतिष्ठित पुरस्कार पाएको थियो भने नाटकमै आधारित भएर शेन्ली आफैँले निर्देशन गरेको सन् २००८ को चलचित्र ‘डाउट’ अस्करको विभिन्न पाँच विधामा मनोनित भएको थियो।

निर्देशक बरालका अनुसार नाटकले क्याथोलिक विद्यालयभित्रको शक्ति सम्बन्ध, नैतिक दुविधा साथै परम्परावाद र सुधारवादबीचको द्वन्द्वलाई गहन रूपमा प्रस्तुत गर्दै शंका, विश्वास र सत्यको विविध आयामहरू खोतल्ने प्रयास गर्छ।

नाटक यही १९ देखि २८ असारसम्म (बुधबारबाहेक) हरेक दिन साँझ ५:१५ बजेबाट पिंगलास्थानस्थित स्टुडियो थिएटरमा मञ्चन हुनेछ।

चलचित्रका विभिन्न विधाको अध्यापन गराउँदै आएको नेपाल फिल्म क्याम्पसले विद्यार्थीको संलग्नतामा नियमित नाटक मञ्चन गर्ने योजना बनाएको क्याम्पस प्रमुख शिशिर उप्रेतीले जानकारी दिए।