भक्तपुर। कक्षा १२ को नतिजा प्रकाशन र मूल्यांकन प्रक्रियामा त्रुटि भएको भएको भन्दै छानबिनको माग गर्दै अनेरास्ववियुले भक्तपुरमा रहेको राष्ट्रिय परिक्षा बोर्डअगाडि प्रदर्शन गरेको छ।
कक्षा १२ को नतिजा प्रकाशन र मूल्यांकन प्रक्रियामा त्रुटिका साथै पुनर्मूल्यांकन तथा रिटोटलिङको प्रभावकारी व्यवस्था नभएको भन्दै अनेरास्ववियुले शुक्रबार भक्तपुरमा प्रदर्शन गरेको हो।
उनीहरूले विद्यार्थीमाथि अन्याय बन्द गर, शिक्षामा बेथिति अन्त्य गर, अनियमितता छानबिन गर, दोषीलाई कारबाही गर, शैक्षिक न्याय कायम गरलगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।
अनेरास्ववियुका महासचिव अञ्जना शिवाकोटीले शिक्षा क्षेत्रको सुधारको माग गर्दै परीक्षा बोर्डमा प्रदर्शन गरिएको बताइन्। कक्षा १२ को नतिजा प्रकाशनमा भएको त्रुटिका कारण विद्यार्थीको भविष्यमाथि खेलबाड भएकाले गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराइन्।
साथै विद्यार्थीहरूले चाँडो नतिजा सार्वजनिक गर्ने नाममा त्रुटि गर्ने कर्मचारीलाई कारबाही गर्नुपर्ने माग गरेका छन्।