विराटनगर। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले नेकपा एमालेसँग तत्कालै सहकार्य प्रक्रिया अगाडि बढ्ने बताएका छन्।
विराटनगरमा शुक्रबार आयोजित पार्टीको एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा उनले वामपन्थी शक्तिबीचको एकता र सहकार्यको आवश्यकता औँल्याउँदै यस्तो बताएका हुन्। उनले एमालेसँग मात्र नभई अन्य वामपन्थी दल र लोकतान्त्रिक शक्ति जनता समाजवादी पार्टी (जसपा) सँग पनि निरन्तर संवाद भइरहेको जानकारी दिए।
आफ्नो राजनीतिक जीवनमा क्रमभंग शब्दलाई बढी प्रयोग गर्ने दाहालले आगामी महाधिवेशनमा फेरि अर्को ठूलो राजनीतिक परिवर्तन वा क्रमभंग हुने दाबी गरे। उनले भने, “दाहालको अन्तिम क्रमभंग हेर्नुस् अब कस्तो हुन्छ। यसले देशको राजनीतिमा नयाँ तरंग ल्याउनेछ।”
पार्टीले अब आफ्नो ध्यान अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा पनि केन्द्रित गरेको उनले बताए। सोही सिलसिलामा पार्टीका सह-संयोजक माधवकुमार नेपाल अहिले रसिया भ्रमणमा रहेको र आफू पनि छिट्टै श्रीलंका भ्रमणमा निस्कन लागेको उनले जानकारी दिए। कार्यक्रममा दाहालले पार्टी कार्यकर्ताहरूलाई आगामी राजनीतिक चुनौतीका लागि तयार रहन निर्देशनसमेत दिए।