चितवनको भरतपुर महानगरपालिकाले बाटोमा लगाएको फुल। सबै तस्बिर : निशा श्रेष्ठ
अ
अ+
अ-
असार लागेपछि चितवनको आकाशले एउटा बेग्लै लय समात्छ। एकातिर तराईको रापिलो घाम, अर्कातिर छिनछिनमा आउने झरीको शीतलता। यही मौसमको लुकामारीका बीच भरतपुरका सडकछेउमा फुलेका असारेको मुग्धता बेग्लै छ।
सडकका डिभाइडर र किनारहरूमा लामबद्ध भएर फुलेका असारे फूलले गुडिरहेका सवारी र हतारिएका यात्रीलाई एकछिन भए पनि प्रकृतिको सामीप्य महसुस गराएका छन्। किन विशेष छ असारे? जब जेठ-असारको प्रचण्ड रापले धेरै फूल ओइलाउन थाल्छन्, असारे भने त्यही रापमा झन् ढकमक्क भएर फुल्छ।
यसको यही ‘जिद्दी’ स्वभाव र स्थानीय हावापानीसँगको सामञ्जस्यलाई ख्याल गर्दै भरतपुर महानगरपालिकाले असारे फूल लगाएको छ।
यद्यपि, महानगरका सडकका सबै क्षेत्रमा यस फूलको मात्रै वर्चस्व देखिँदैन। लगाएको ठाउँमा भने असारेले फुल्न बिर्सिएको छैन।
‘सदाबहार हरियो’ सहर बनाउने दीर्घकालीन सोचका साथ रोपिएका यी फूलले सहरको धुलो र कोलाहललाई केही हदसम्म मत्थर मात्र गरेका छैनन्, बटुवाको आँखामा शीतलता पनि भरिदिएका छन्।
कतै गाढा बैजनी, कतै गुलाबी त कतै दुधिलो सेतो रङको सम्मिश्रण चित्ताकर्षक देखिन्छ।
सिमेन्टका अग्ला घर र कालोपत्रे सडकका बीचमा प्रकृतिको यो सानो उपस्थितिले पनि मान्छेको मनमा नयाँ उत्साह जगाएको भान हुन्छ।
महानगरपालिकाको ‘सहर तथा हरियाली प्रवर्द्धन शाखा’ प्रमुख शारदा शर्माका अनुसार सडक किनारमा रोपिएका यी असारे र अन्य फूलले सहरको पहिचान नै बदलिदिएका छन्।
यसलाई टिकाइराख्न महानगरले नियमित गोडमेल, मलजल र सिँचाइको काम गरिरहेको छ।