विश्व संगीत दिवस (२१ जुन)

कहिलेकाहीँ सबैभन्दा प्रभावशाली ध्वनि भनेको ध्वनिको अनुपस्थिति नै हुन्छ।

६ असार २०८३
सेतो सूर्यको छायांकनमा ध्वनि संयोजक किशोर आचार्य। तस्बिर : आचार्यको फेसबुक
अ+
अ-

नेपाली सिनेमाका कमजोर पक्षमध्ये एक हो, ध्वनि संयोजन। नयाँ पुस्ताका केही ध्वनि संयोजकले यो कमजोरी सुधार्न उल्लेख्य योगदान दिएका छन। ध्वनि संयोजक किशोर आचार्य तिनैमध्ये एक हुन्, जसले सेतो सूर्य, ऐना झ्यालको पुतली, गाउँ आएको बाटो, ढोरपाटन (वृत्तचित्र) लगायत दर्जनौँ सिनेमामा काम गरेर प्रशंसा र पुरस्कारसमेत जितेका छन्। उनी अन्तर्राष्ट्रिय संस्था मोसन पिक्चर साउन्ड एडिटर्स (एमपीएसई)का सदस्यसमेत हुन्। उनै आचार्यसँग नेपालन्युजका लागि गरिएको सात सवाल :

सिनेमामा प्रयोग हुने ध्वनि, संगीत र पार्श्वसंगीतबीच के फरक छ? यी तीन वटाको काम कहाँ जोडिन्छ र कहाँनेर छुट्टिन्छ?

सिनेमामा ध्वनि, संगीत र पार्श्वसंगीत तीनवटै महत्त्वपूर्ण तत्त्व हुन् जसको भूमिका फरक फरक हुन्छ। ध्वनि संयोजनभित्र संवाद, वातावरणीय ध्वनि, चराचुरुंगीको आवाज, खोलाको बहाव, सवारीसाधन, पाइला, भिडभाड सबै श्रव्य कुरा पर्छन्। तर, गीत र संगीत पर्दैनन्।

संगीत वा गीत कहिलेकाहीँ कथालाई अगाडि बढाउन, भावनात्मक क्षणलाई जोड दिन वा कथाको प्रवाहमा विश्राम दिन प्रयोग गरिन्छ। पात्र आफैँले सुन्न सक्ने यस्तो संगीतलाई ‘डाइजेटिक’ संगीत भनिन्छ।

पार्श्वसंगीत भने दृश्यअनुसार सिर्जना गरिने संगीत हो। यसले तनाव, उत्साह, दुःख, भय आदि भावलाई अझ प्रभावकारी बनाउने काम गर्छ। पात्रले नसुन्ने यस्तो संगीत दर्शकका लागि मात्र बज्छ। कहिलेकाहीँ निर्देशकहरू यो सीमा जानाजान मेटाउँछन्। यी तीनवटै पक्ष निर्देशकको दृष्टिकोणअनुसार अन्तिम ध्वनि संयोजन र मिक्सिङको चरणमा एकअर्कासँग जोडिएर दर्शकलाई पूर्ण सिनेम्याटिक अनुभव दिन्छन्।

ध्वनि संयोजकको मुख्य काम के हो?

ध्वनि संयोजकको मुख्य काम निर्देशकको दृष्टि र कथाको आवश्यकताअनुसार फिल्मका लागि उपयुक्त ध्वनि संसार (साउन्डस्केप) निर्माण गर्नु हो। संवाद, वातावरणीय ध्वनि, फोली र विभिन्न साउन्ड इफेक्टहरूलाई सावधानीपूर्वक छनोट र संयोजन गरेर कथालाई विश्वसनीय र प्रभावकारी रूपमा प्रस्तुत गरिन्छ। ध्वनि संयोजकले कुन दृश्यमा संगीत आवश्यक छ र कुन दृश्य मौनतामा अझ शक्तिशाली हुन्छ भन्ने निर्णयमा पनि महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ, किनकि कहिलेकाहीँ सबैभन्दा प्रभावशाली ध्वनि भनेको ध्वनिको अनुपस्थिति नै हुन्छ।

सिनेमा मूलतः श्रव्य-दृश्य माध्यम भएकाले ध्वनिले कथावाचन, वातावरण निर्माण र भावनात्मक प्रभाव सिर्जना गर्न ठूलो योगदान पु‍र्‍याउँछ। दृश्यविना ध्वनि भए त्यो रेडियो जस्तै हुन्छ, तर ध्वनिविना दृश्य केवल सीसीटीभी फुटेज जस्तै महसुस हुन सक्छ। त्यसैले दर्शकलाई कथासँग भावनात्मक रूपमा जोड्न र सिनेमालाई जीवन्त बनाउन ध्वनि संयोजनको भूमिका अपरिहार्य हुन्छ।

दर्शकले पर्दामा जे देख्छन्, त्यसलाई विश्वसनीय बनाउन ध्वनिले कस्तो भूमिका खेल्छ?

मानिसको मस्तिष्कले दृश्य र ध्वनि एकसाथ मिल्दा मात्र त्यसलाई वास्तविक मान्छ। पर्दामा देखिने लडाइँ, मुक्काबाजी, गोलीहरू र भत्किने भित्ताहरू सबै नक्कली हुन्छन्। ध्वनि संयोजकले वास्तविक मुक्काको आवाज प्रयोग गर्दैनन्, किनकि त्यो पर्दामा कमजोर र प्रभावहीन सुनिन्छ। बरु, तिनीहरूले अन्य वस्तुबाट सिर्जना गरिएको अतिरञ्जित (exaggerated) आवाज प्रयोग गर्छन्। त्यो आवाज दृश्यसँग मिलाउँदा दर्शकको दिमागले स्वतः विश्वास गर्छ। यही नै ध्वनिको जादु हो।

ध्वनिले पर्दाभित्र मात्र नभई फ्रेमभन्दा बाहिर पनि संसार निर्माण गर्छ। जस्तै, एउटा व्यक्ति अँध्यारो कोठाभित्र लुकेको छ, दर्शकले बाहिर गोलीको आवाज, मानिसहरूको चिच्याहट र भागदौड सुन्छन्, र एउटै युद्धको दृश्य नदेखाए पनि दर्शकले बाहिर युद्धक्षेत्र छ भनेर महसुस गर्छन्। यसरी ध्वनिले दृश्यको सीमालाई तोड्छ। जहाँ क्यामेरा पुग्न सक्दैन, त्यहाँ ध्वनि पुग्छ र संसारलाई फराकिलो बनाउँछ। त्यसैले ध्वनि भनेको केवल दृश्यको सहायक नभई कथाको एउटा स्वतन्त्र भाषा हो।

कथामा कुन अवस्थामा संगीत वा पार्श्वसंगीतभन्दा ध्वनि बढी प्रभावकारी हुन्छ? कस्तो अवस्थामा संगीत अपरिहार्य बन्छ? पार्श्वसंगीत नै कुन बेला चाहिन्छ?

कुनै दृश्यमा ध्वनि संयोजन वा संगीतको प्रयोग गर्नु वा कहिले कुनलाई बढी प्राथमिकता दिने भन्ने कुरा पूर्ण रूपमा फिल्मको विधा, शैली र कथावाचनको तरिकामा निर्भर गर्छ। सामान्यतया सबै ध्वनि तत्त्वहरूलाई डाइजेटिक र नन–डाइजेटिकमा बाँड्न सकिन्छ। डाइजेटिक ध्वनि पात्रको संसारभित्र अस्तित्वमा रहने र पात्रले पनि सुन्न सक्ने ध्वनिहरू (फोली, वातावरणीय ध्वनि, संवाद, साउन्ड इफेक्ट्सहरू) हुन्, र यिनले दर्शकलाई पात्रसँगै उसको संसारभित्र राखेर वास्तविकता सिर्जना गर्छन्। दृश्यलाई वास्तविकताको गहिराइका रूपमा स्थापित गर्न, युद्धको भयावहता वा अपराधको तनाव जस्ता कुरा महसुस गराउन यही डाइजेटिक ध्वनि सबैभन्दा शक्तिशाली हुन्छ। जस्तै, नो कन्ट्री फर ओल्ड म्यानमा केवल पाइलाको आवाज, हावा र मौनताले नै त्रास सिर्जना गर्छ।

नन–डाइजेटिक ध्वनि भने पात्रको संसारमा अस्तित्वमा नरहने तर दर्शकलाई भावनात्मक असर दिन प्रयोग हुने ध्वनि हुन्। जब कथाले भावनात्मक उचाइ माग्छ जुन संवाद वा दृश्यले मात्र पुग्न सक्दैन, त्यहाँ यो अपरिहार्य बन्छ। जस्तै, इन्टरस्टेलरमा हान्स जिमरको संगीतले ब्रह्माण्डको विशालता र एक्लोपना एकसाथ महसुस गराउँछ।

कहिलेकाहीँ फिल्ममेकरले ध्वनिलाई डाइजेटिकबाट नन–डाइजेटिक वा नन–डाइजेटिकबाट डाइजेटिकतर्फ परिवर्तन गर्छन्, जसलाई ‘ट्रान्सडाइजेटिक’ भनिन्छ। पात्रले रेडियो बन्द गर्छ, तर त्यही धुन ब्याकग्राउन्ड स्कोरमा बज्न थाल्छ। यो सिनेमाको सबैभन्दा सशक्त प्रविधिमध्ये एक हो। अन्ततः ध्वनिले वास्तविकता दिन्छ, संगीतले अर्थ दिन्छ, स्कोरले भावना निर्देशन गर्छ र कुन दृश्यमा कुन चाहिन्छ भन्ने निर्णय नै एक सफल ध्वनि संयोजकको सबैभन्दा महत्त्वपूर्ण सीप हो।

नेपालमा ध्वनि संयोजनमा विगतभन्दा अहिले भइरहेका फरक अभ्यास के हुन्?

ध्वनि संयोजनमा अहिलेसम्म कुनै आमूल परिवर्तन भएको छैन, सुधार भने अवश्य भएको छ। दशकौँअघि लगभग सबै साउन्ड र स्कोरको काम मुम्बईमा गरिन्थ्यो, जहाँ प्रायः स्टक म्युजिक प्रयोग गरिन्थ्यो र फिल्मअनुसार विशेष साउन्ड थिम वा आइडिया हुँदैनथ्यो। साउन्ड कथाको अभिन्न अंग नभई केवल भरिने खाली ठाउँ थियो।

अहिले त्यो अवस्था परिवर्तन भएको छ। पार्श्वसंगीतका लागि संगीतकारहरू राखिन थालेका छन् र नेपालमै ध्वनि संयोजन सुपरिवेक्षण गर्न ध्वनि संयोजकहरूको उपस्थिति खोजिन थालेको छ। यसले फिल्मको समग्र श्रव्य गुणस्तरमा उल्लेखनीय फरक पारेको छ। सिंक साउन्ड (लोकेसनमै संवाद रेकर्ड गर्ने अभ्यास) पनि बिस्तारै अपनाउन थालिएको छ, किनकि यसले पात्रको आवाजमा वास्तविक वातावरणको टेक्स्चर (texture) र स्वाभाविकता ल्याउँछ, जुन स्टुडियो डबिङले दिन सक्दैन। तर, अझै पनि सस्तो डबिङ, स्टुडियो शुल्क र कलाकारहरूलाई डबिङका लागि छुट्टै भुक्तानी नदिने कारणले धेरै फिल्ममेकर लोकेसन साउन्डभन्दा डबिङतर्फ नै आकर्षित हुन्छन्। यो आर्थिक बाध्यता नेपाली सिनेमाको साउन्ड गुणस्तरमा ठूलो अवरोध हो।

ध्वनि संयोजक किशोर आचार्य।

बिस्तारै ध्वनि संयोजन अलग विधाका रूपमा स्थापित हुँदै छ। तर, अझै ध्वनिमार्फत कथावाचन गर्ने अवधारणा धेरै फिल्ममेकरले पर्याप्त रूपमा प्रयोग गर्न बाँकी नै छ। यस्तो गर्न सकेको दिन नेपाली सिनेमाले अर्को फड्को मार्नेछ।

ध्वनि संयोजनका हिसाबले तपाईंलाई उत्कृष्ट लाग्ने तीन अन्तर्राष्ट्रिय सिनेमा कुन कुन हुन्?

नो कन्ट्री फर ओल्ड म्यान अत्यन्तै न्यून संगीत प्रयोग गरिएको फिल्म हो। यहाँ मौनता र वास्तविक ध्वनिको अत्यन्त सूक्ष्म प्रयोगले तनाव, डर र असहजता निर्माण गर्छ। एनिमेटेड फिल्म वाल-ईले न्यून संवाद र प्रभावकारी ध्वनि संयोजनमार्फत रोबटको भावना र सम्बन्धलाई दर्शकसम्म पु‍र्‍याउँछ। त्यस्तै, एपोक्यालिप्स नाउ (१९७९)मा ध्वनि संयोजन कथावाचनको मनोवैज्ञानिक लेयर हो जसले दृश्यभन्दा बढी अर्थ, अनुभूति र मानसिक अवस्था निर्माण गर्छ। यही कारण यी तीन फिल्म ध्वनि संयोजनका दृष्टिले मलाई अत्यन्त प्रभावशाली लाग्छन्।

अहिलेको समयमा एआई ध्वनि र संगीतका लागि अवसर हो कि चुनौती?

एआई नेपाली सिनेमा उद्योगका लागि अझै नयाँ विषय हो। यसको नकारात्मक प्रभाव मैले अहिले नै प्रत्यक्ष रूपमा धेरै देखेको छैन। तर, नयाँ केही टुल सुरु भएका छन्, जसलाई मैले पनि प्रयोग गरिरहेको छु, र ती टुलले मेरो प्राविधिक काममा समय बचत गर्न निकै सहयोग गरिरहेका छन्। यसले मलाई सोझै सिर्जनात्मक काममा केन्द्रित गर्न पनि मद्दत गरेको छ। म अझै नयाँ डेभलपमेन्ट के हुन्छन् भनेर प्रतीक्षा गरिरहेको छु।

मेरो विचारमा, जसले एआईलाई पर्सनलाइज गर्न सक्छ, उसले यसबाट सिर्जनात्मक सहयोग लिन सक्छ। अन्यथा, एआईका आफ्नै इनपुटहरू हुन्छन्, जुन दोहोरिइरहन सक्छन् र काम उस्तै उस्तै सुनिन सक्छ।