काठमाडौँ। इरानले फेरि ‘स्ट्रेट अफ हर्मुज’ बन्द गरेको घोषणा गरेको छ। इरानमा युद्धको रेखदेख गर्ने खातम अल–अम्बिया मुख्यालयले ‘स्ट्रेट अफ हर्मुज’ लाई जहाजहरुका लागि बन्द गरिएको घोषणा गरेको हो।
यद्यपि अमेरिकाले इरानको यो दाबीको खन्डन गरेको छ।
अमेरिकाले युद्धविराम सम्झौताका सर्तहरु उल्लंघन गरेको भन्दै खातम अल–अम्बिया मुख्यालयले स्ट्रेट अफ हर्मुज बन्द गरिएको घोषणा गरेको बीबीसीले जनाएको छ।
यसबाहेक दक्षिणी लेबनानमा इजरायलका तर्फबाट ‘लगातार युद्धविरामको उल्लंघन’ र लेबनानका जनतामाथि भइरहेको आक्रमणलाई पनि यस घोषणाको कारण बताइएको छ।
इरानको रिभोल्युसनरी गार्ड कप्र्स (आईआरजीसी) नौसेनाले स्ट्रेट अफ हर्मुज सबै जहाजहरुका लागि बन्द गरिएको बताएको छ। अमेरिका र इजरायलले युद्धविराम उल्लंघन गरेकाले होर्मुज बन्द गर्नुपरेको नैसेनाको भनाइ छ।
यसै साताको सुरुवातमा अमेरिका र इरानबीच भएको एउटा सम्झौतामा युद्ध अन्त्य गर्नका लागि १४ बुँदे रुपरेखा तयार गरिएको थियो।
स्ट्रेट अफ हर्मुज विश्वकै सबैभन्दा व्यस्त तेल ढुवानी हुने मार्गहरुमध्ये एक हो। विश्वको करिब २० प्रतिशत कच्चा तेल र एलएनजीको आपूर्ति यही मार्ग भएर जान्छ।
आईआरजसीसीले सबै जहाजहरुलाई स्ट्रेट अफ होर्मुजनजिक नआउन चेतावनी दिएको छ। होर्मुज क्षेत्रमा आए सुरक्षामा खतरा हुने उसले जनाएको छ।
खातम अल–अम्बिया मुख्यालयले दक्षिणी लेबनानबाट इजरायली सैनिकहरु फिर्ता गराउन सफल भएको पनि दाबी गरेको छ।
इरान र अमेरिकाबीच एउटा समझदारीपत्रमा डिजिटल हस्ताक्षर भएको थियो। १४ बुँदे यस समझदारीमा स्ट्रेट अफ होर्मुज खोल्ने, लेबनानसहित सबै मोर्चाहरुमा युद्धविराम र आणविक कार्यक्रमहरुमा अगाडिका कुराकानी जस्ता धेरै कुरा समावेश थिए।
अमेरिकाद्वारा इरानी दाबीको खन्डन
अमेरिकाका उपराष्ट्रपति जेडी भान्सले स्ट्रेट अफ होर्मुज पूर्ण रुपमा खुला रहेको दाबी गरेका छन्।
फक्स न्युजसँग कुरा गर्दै उनले भने,‘इरानीहरुले अहिले पनि होर्मुज स्ट्रेट बन्द राखेका छन् भन्ने खालका कुनै प्रमाण हामीले फेला पारेका छैनौँ। हिजोमात्र होर्मुज स्ट्रेटबाट १ करो ६० लाख ब्यारेल तेल ढुवानी भएको छ।’