विराटनगर। मोरङ जिल्ला कारागारका कैदीबन्दीहरूको सरकारी भत्ता र श्रमको पारिश्रमिक अवैध रूपमा असुली गरेको आरोपमा अभिषेक गिरी पक्राउ परेका छन्। गिरीको गिरफ्तारीसँगै मोरङ कारागारभित्र शनिबार कैदीबन्दीहरूले प्रदर्शनसमेत गरेका छन्।
कैदीबन्दीलाई सरकारले उपलब्ध गराउने जाडो र गर्मीको कपडा भत्ता दुरुपयोग गरेको आरोपमा गिरीलाई शनिबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो। गिरी पक्राउ परेपछि कारागारभित्रका कैदीबन्दीहरूले ‘अभिषेक गिरीको दमन कहिलेसम्म ?’ लगायत मागसहित प्लेकार्ड प्रदर्शन गरेका थिए।

आन्दोलनका उत्रिएका कैदीबन्दी।
जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी निरीक्षक अभिषेक श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले गिरीलाई विराटनगर ८, मधुमारास्थित उनकै निवासबाट पक्राउ गरेको हो। गिरी पक्राउ परेपछि उनीसँगको मिलेमतोको आशंकामा प्रहरीले कारागारका वर्तमान नाइके राकेश यादवलाई बयानका लागि जिल्ला प्रहरी कार्यालय ल्याउन खोज्दा कैदीबन्दीले नाराबाजी गरेका थिए। नाइके यादवलाई कारागारबाट अन्यत्र सार्न खोजिएको भन्दै उनीहरूले विरोध जनाएका हुन्। कैदीबन्दीले गिरीलाई कारबाही गर्नुपर्ने तर यादवलाई सरुवा गर्न नपाइने माग राखेका छन्। कारागारभित्र तनाव बढेपछि प्रहरीले यादवलाई पुनः कारागारमै फर्काएर बयान लियो।
गिरीमाथि कारागारका कैदीबन्दीलाई सरकारले उपलब्ध गराउने जाडो र गर्मीको लुगा भत्ता तथा उनीहरूले कारागारभित्र मुडा र गलैँचा बुनेर कमाएको रकमसमेत जबरजस्ती लिने गरेको आरोप छ। हाल मोरङ कारागारमा एक हजार ९२ पुरुष र १०७ महिला गरी कुल एक हजार १९९ कैदीबन्दी छन्। उनीहरूले दैनिक ८० रुपैयाँ खाजा भत्ता पाउँछन्। यसबाहेक सरकारले वार्षिक रूपमा जाडो र गर्मीका लागि प्रतिकैदी पाँच हजार रुपैयाँ (दुई पटक गरी २५ सयका दरले) कपडा भत्ता उपलब्ध गराउँछ।
अभिषेक गिरी विराटनगरबाट पक्राउ, कारागारभित्रैबाट रकम असुलेको आरोप
कारागारभित्र करिब पाँच सय जनाले मुडा र १०० जनाले गलैँचा बुन्ने काम गर्छन्। ती सामग्री बिक्रीबाट आएको रकम र सरकारी भत्तासमेत गिरीले कारागारका चौकीदार राकेश यादवसँगको मिलेमतोमा आफ्ना सहयोगीको खातामा पठाउन लगाएर असुल्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

विराटनगरको हाटखोलामा रहेको जिल्ला कारागार मोरङभित्र सुरक्षामा खटिएका प्रहरी।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी मुकेन्द्रकुमार मिश्रले भने, “कैदीबन्दीको भत्ता रकम दुरुपयोग भएको गुनासो आएपछि अनुसन्धानका लागि गिरीलाई नियन्त्रणमा लिइएको हो। अहिले घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ।” पक्राउ परेपछि छाती दुखेको बताएका गिरीलाई अहिले कोसी अस्पताल विराटनगरको आकस्मिक कक्षमा भर्ना गरिएको छ। अपहरण तथा शरीर बन्धक मुद्दामा नौ वर्ष सजाय भुक्तान गरी दुई वर्षअघि कारागारमुक्त भएका गिरीले बाहिर बसेर पनि कारागारको आन्तरिक व्यवस्थापनमा हस्तक्षेप र आर्थिक शोषण गरिरहेको आरोप लाग्दै आएको छ।