काठमाडौँ। आकर्षक वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
नेपाल प्रहरीको केन्द्रीय समाचारकक्षका अनुसार प्रहरीले बाराका गगनबहादुर स्याङ्तान, सर्लाहीका निर्जल बस्नेत र दाङका बलबहादुर चन्द ठकुरीलाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये गगनबहादुरले माल्दिभ्स पठाइदिन्छु भन्दै चार जनाबाट चार लाख ३० हजार, निर्जलले मलेसिया पठाइदिन्छु भन्दै एक जनाबाट तीन लाख ९० हजार र बल बहादुरले क्रोएसिया पठाइदिन्छु भन्दै एक जनाबाट एक लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको पाइएको छ।
पीडितको उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले काठमाडौँ र ललितपुरबाट उनीहरूलाई पक्राउ गरेको हो। पक्राउमध्ये गगन बहादुरलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ। निर्जल र बलबहादुरलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ।