काठमाडौँ। जेन-जी आन्दोलनमा कारागार कार्यालय कास्कीबाट फरार भएका अभियुक्त लागुऔषधसहित पक्राउ परेका छन्।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका-१५ नयाँगाउँका ३३ वर्षीय नरेश गुरुङ रहेका छन्। गुरुङलाई शनिबार बिहान इलाका प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्युरो पोखराको टोलीले पक्राउ गरेको हो। पोखरा महानगरपालिका-३२ मजुवास्थगित पृथ्वी राजमार्गमा सवारीसाधन चेकजाँचको क्रममा गुरुङ यात्रुबाहक बसबाट पक्राउ परेको कास्कीका प्रहरी उपरीक्षक नवीन कार्कीले बताए।
गुरुङको साथबाट प्रहरीले ६ ग्राम ब्राउनसुगर फेला पारेको छ। गुरुङ लागुऔषध मुद्दामा दुई वर्ष कैद र एक लाख जरिवाना भई जिल्ला कारागार कास्की चलान भएका थिए।
२४ भदौ २०८२ को जेन-जी आन्दोलनको क्रममा उनी फरार भएका थिए। गुरुङलाई प्रहरीले जिल्ला अदालत कास्की लगेकोमा उनी कारागार चलान भएका छन्।