काठमाडौँ। काठमान्डु गोर्खाजले पूर्वराष्ट्रिय क्रिकेट खेलाडी शरद भेषावकरलाई ‘क्रिकेट डाइरेक्टर’ मा नियुक्त गरेको छ।
नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली काठमान्डु गोर्खाजले आउँदो सिजनको एनपीएललाई लक्षित गरेर शरदलाई लिएको जनाएको छ। शरदले २०२४ मा एनपीएलको पहिलो सिजन चितवन राइनोजबाट खेलेका थिए।
अब भने गोर्खाजको क्रिकेट व्यवस्थापन, रणनीति, प्राविधिक पक्ष, खेलाडी व्यवस्थापनको महत्त्वपूर्ण जिम्मेवारीमा रहेर काम गर्न लागेका हुन्। शरदले सन् २००२ मा यूएईमा भएको एसीसी यू-१५ एसिया कपमा खेल्न सुरु गरेका थिए। त्यसपछि नेपालको यू-१७, यू-१९ हुँदै शरदले २००४ मा पहिलोपटक राष्ट्रिय टोलीबाट खेलेका थिए।
शरदले २०१४ मा नेपाललाई पहिलो पटक टी-२० विश्वकपमा पुर्याउन महत्त्वपूर्ण भूमिका खेलेका थिए। नेपालले २०१८ मा नेदरल्यान्ड्स गएर पहिलोपटक एकदिवसीय अन्तर्राष्ट्रिय खेल्दा शरद त्यो टोलीका सदस्य थिए। प्रथम श्रेणीको क्रिकेटमा नेपाली खेलाडीको व्यक्तिगत उच्च स्कोर ८९ रन छ। जुन शरदले २००५ मा कीर्तिपुरमा यूएईविरुद्ध इन्टर कन्टिनेन्टल कपमा बनाएका थिए।
गत वर्ष हङकङ सुपर सिक्समा नेपालको कप्तानी गर्दै शरदले आफ्नो खेलजीवनलाई विश्राम गरेका थिए। घरेलु क्रिकेटमा शरद निकै सफल खेलाडी तथा कप्तान थिए। नेपालका विभिन्न फ्रेन्चाइज प्रतियोगितामा शरदको कप्तानीमा ३ उपाधि जितेको थियो भने ३ मा उपविजेता बनेको थियो। यसको साथै शरदको नेतृत्वमा नेपाल एपीएफ क्लबले टी-२० र ५० ओभरमा गरी दुई घरेलु प्रतियोगिता जितेको थियो।