२० असार २०८३
अ+
अ-

काठमाडौं ।अन्तर्राष्ट्रिय बजारमा बढ्दो अनिश्चितता र सुरक्षित लगानी (सेफ हेभेन) प्रति लगानीकर्ताको आकर्षण बढेसँगै नेपाली बजारमा सुनको मूल्यले पनि नयाँ उचाइ कायम गरेको छ। पछिल्लो एक सातामा मात्रै छापावाल सुनको मूल्य प्रतितोला ११ हजार ६०० रुपैयाँले बढेर २ लाख ९० हजार ७०० रुपैयाँ पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार असार १२ गते प्रतितोला २ लाख ७९ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन असार १९ गतेसम्म आइपुग्दा २ लाख ९० हजार ७०० रुपैयाँ पुगेको हो। साताको बीचतिर मूल्यमा केही गिरावट आए पनि अन्तिम दुई कारोबार दिनमा भएको उच्च वृद्धिले सुनलाई पुनः उकालो यात्रामा फर्काएको हो।

महासंघको तथ्यांकअनुसार असार १४ गते सुनको मूल्य प्रतितोला ४ हजार ७०० रुपैयाँले बढेर २ लाख ८३ हजार ८०० रुपैयाँ पुगेको थियो। त्यसपछि असार १५, १६ र १७ गते लगातार तीन दिन घट्दै क्रमशः २ लाख ८२ हजार ४००, २ लाख ७७ हजार ९०० र २ लाख ७७ हजार ३०० रुपैयाँमा कारोबार भयो। तर असार १८ गते प्रतितोला ६ हजार २०० रुपैयाँ र असार १९ गते थप ७ हजार २०० रुपैयाँले मूल्य बढेपछि सुन हालसम्मकै उच्च मूल्यको नजिक पुगेको छ।

सुन व्यवसायीहरूका अनुसार विश्व अर्थतन्त्रमा बढ्दो अनिश्चितता, चर्किँदै गएको भूराजनीतिक तनाव, सम्भावित युद्धको जोखिम तथा प्रमुख मुलुकका केन्द्रीय बैंकहरूले सुनको मौज्दात बढाइरहेको प्रवृत्तिले अन्तर्राष्ट्रिय बजारमा सुरक्षित सम्पत्तिको माग बढाएको छ। यसका साथै अमेरिकी डलरको उतारचढाव र विश्वव्यापी ब्याजदरसम्बन्धी अपेक्षाले पनि सुनको मूल्यमा प्रत्यक्ष प्रभाव पारिरहेको उनीहरूको भनाइ छ।

नेपालमा सुनको मूल्य अन्तर्राष्ट्रिय बजारको दर, अमेरिकी डलरको विनिमय दर र आयात लागतका आधारमा निर्धारण हुने भएकाले विश्व बजारमा हुने उतारचढावको असर स्वाभाविक रूपमा नेपाली बजारमा पनि पर्ने गरेको व्यवसायीहरू बताउँछन्।

मूल्य निरन्तर बढेसँगै सर्वसाधारणले गहना खरिद केही समयका लागि स्थगित गर्ने प्रवृत्ति देखिए पनि लगानीका रूपमा सुन खरिद गर्नेहरूको चासो भने बढ्दै गएको छ।

व्यवसायीहरूका अनुसार अन्तर्राष्ट्रिय तनाव तत्काल कम नभए र सुरक्षित लगानीको माग उच्च रहिरहे आगामी दिनमा पनि सुनको मूल्य उच्च स्तरमै रहने वा थप बढ्न सक्ने सम्भावना छ। यद्यपि विश्व राजनीतिक अवस्था तथा अमेरिकी मौद्रिक नीतिमा आउने परिवर्तनले मूल्यको दिशा बदल्न सक्ने भएकाले बजारमा उतारचढाव भने कायम रहने अपेक्षा गरिएको छ।