काठमाडौँ। बाढी-पहिरोको कारण देशका विभिन्न राजमार्ग तथा सडकखण्ड अझै अवरुद्ध छन्।
नेपाल प्रहरीका अनुसार कतिपय क्षेत्रमा पहिरो हटाउने काम जारी छ भने कतिपय ठाउँमा अझै सवारी आवागमन पूर्ण रूपमा ठप्प छ।
कोशी राजमार्ग अन्तर्गत सङ्खुवासभाको मकालु गाउँपालिका–३ एकुवा र भोटखोला गाउँपालिका–४ बरूण क्षेत्रमा पनि पहिरो खसेपछि सवारी साधन सञ्चालन रोकिएको छ।
बीपी राजमार्गमा पर्ने काभ्रेपलान्चोकको रोशी गाउँपालिका–११ का माम्तीखोला, बुलढुंगा र डालावेशी क्षेत्रमा ठूलो पहिरो खसेको छ। त्यस्तै सिन्धुलीको नेपालथोक खण्डमा समेत सडक अवरुद्ध हुँदा यातायात सञ्चालन हुन सकेको छैन।
यस्तै, पासाङ ल्हामु राजमार्गको रसुवाको गोसाईंकुण्ड गाउँपालिका–२ घट्टेखोला, बालुवाखानी र तातोपानी क्षेत्रमा पहिरोका कारण सडक बन्द छ। साथै, रसुवागढीस्थित नेपाल–चीन नाका जोड्ने मितेरी पुल गत असार २४ गते आएको बाढीले क्षति पुर्याएकाले अझै बन्द रहेको प्रहरीले जनाएको छ।
त्यस्तै, मेची राजमार्गको इलाम खण्ड र तमोर कोरिडोर पनि पहिरोका कारण यातायातका लागि बन्द रहेका छन्। सम्बन्धित निकायहरूले पहिरो पन्छाउने काम तीव्र रूपमा गरिरहेको जनाइएको छ।