काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन्द्र (बालेन) शाहले अब मधेसका जनता अधिकार माग्न काठमाडौँ जान नपर्ने बताएका छन्।
जनकपुरमा सोमबार आयोजित कार्यक्रममा उनले काठमाडौँ घुम्न, पशुपति र स्वयम्भूको दर्शन गर्न मात्र जान आग्रह गर्दै अब अधिकार माग्न जान नपर्ने बताए।
उनले भने, “काठमाडौं घुम्न जानुहोस्। पशुपति स्वयम्भूको दर्शन गर्न जानुहोस्। अब अधिकार माग्न जाने होइन। त्यो अधिकार अब यही प्रदेश प्रदेशमै उपलब्ध हुनेछ।” यस्तै उनले मधेसको छोरो अब प्रधानमन्त्री बन्ने भन्दै सबैले घण्टीमा भोट हाले सही समय र सही सरकार आउने दाबी गरे।

“मधेसको छोरो अब प्रधानमन्त्री बन्छ। सबैले घण्टीमा भोट हाल्नुपर्छ। सही समय र सही सरकार आउँछ‚” उनले भने। त्यस्तै उनले मधेसका उखु किसान माइतीघरमा जाँदा आफू मेयर मात्र भएको कारण केही गर्न नसकेको बताउँदै अब केन्द्रीय राजनीतिमार्फत किसानका माग सम्बोधन गर्ने प्रतिबद्धता जनाए।
उनले भने, “मधेसका उखु किसान माइतीघरमा आउँदा मैले केही गर्न सकिनँ किनकि म मेयर मात्र थिए। तर अब म तपाईंहरूको साथमा छु किनकि म अब केन्द्रीय राजनीतिमा आएको छु।”

‘२० हजार विद्यार्थीलाई निःशुल्क पढाउनु समाजवाद हो, बिनाढेउवा के विदेश पठाउनु होइन’
शाहले मधेसमा नेताहरूले समाजवादको कुरा गर्ने तर समाजवादको क्षेत्रमा काम नगरेको बताए। उनले भने‚ “काठमाडौँ महानगरपालिकामा हरेक वर्ष २० हजार विद्यार्थीले छात्रवृत्तिमा महँगा-महँगा स्कुल-कलेजमा निःशुल्क पढ्न पाएका छन्। त्यो समाजवाद हो। हिजो काठमाडौंबाट मधेस झरेका नेताले बिनाढेउवा के (पैसाबिना) श्रम बेच्न विदेश पठाउँछु भन्नु समाजवाद होइन।”
