काठमाडौँ
००:००:००
६ माघ २०८२, मंगलवार

६ माघ २०८२
रवि लामिछाने।
अ+
अ-

चितवन। यही २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका छन्।

उनले रास्वपा भरतपुर महानगर सभापति सीता ज्ञवालीको वारेसनामामार्फत उम्मेदवारी दर्ता गराएका हुन्। मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनका सहायक निर्वाचन अधिकृत देवीराम भण्डारीले वारेसनामामार्फत उम्मेदवारी दर्ता भएको जानकारी दिए। लामिछानेको प्रस्तावकमा विक्रम श्रेष्ठ र समर्थकमा रामजी ठकुरी छन्। लामिछानेको सहकारी ठगी मुद्दामा जिल्ला अदालत पर्सा रहेका कारण आउन ढिला भएपछि वारेसनामामार्फत उम्मेदवारी दर्ता गरिएको हो। यससँगै चितवन २ मा नेपाली कांग्रेसबाट मीना खरेल, नेकपा एमालेबाट अश्विन घिमिरे र नेपाली कम्युनिस्ट पार्टीबाट प्रताप गुरुङले उम्मेदवारी दर्ता गराएका छन्।

यस्तै चितवन क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका राजेन्द्रप्रसाद बुर्लाकोटी, एमालेका दावा दोर्जे लामा, नेपाली कम्युनिस्ट पार्टीबाट कृष्णराज पन्तले र राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले उम्मेदवारी दर्ता गराएका छन्। ढकाल रास्वपाबाट यसअघि प्रतिनिधिसभामा निर्वाचित हुनुभएको थियो। यस्तै क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका टेकप्रसाद गुरुङ, नेकपा एमालेका शङ्करराज थपलिया, नेपाली कम्युनिस्ट पार्टीबाट रेनु दाहाल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट सोबिता गौतमले उम्मेदवारी दर्ता गराएका छन्। भरतपुर महानगर प्रमुख पदबाट राजीनामा दिएर दाहालले उम्मेदवारी दिएकी हुन्।

आसन्न प्रतिनिधिसभा निर्वाचनमा जिल्लाका तीनवटा निर्वाचन क्षेत्रमा चार लाख ४२ हजार ८२ जना मतदाता रहेका छन्। जसमा दुई लाख १७ हजार ३१४ जना पुरुष र दुई लाख २४ हजार ७६६ जना महिला एवं दुईजना तेस्रोलिङ्गी रहेका छन्।

जिल्लाका १६२ वटास्थल र ४९४ वटा केन्द्रबाट ती मतदाताले मतदान गर्नेछन्। निर्वाचन कार्यालय चितवनका प्रमुख भीमसेन कार्कीले प्रतिनिधिसभा निर्वाचन २०७९ को निर्वाचनको तुलनामा यस वर्ष हुने प्रतिनिधिसभा निर्वाचनमा ३३ हजार ७४० जना नयाँ मतदाता थपिएका छन् भने ३४ वटा मतदान केन्द्र थप भएको बताए।

क्षेत्र नम्बर १ मा एक लाख ४९ हजार ६२१ जना मतदाता छन्। जसमा ७६ हजार ७६१ जना पुरुष र ७५ हजार ८६० जना महिला छन्। यस क्षेत्रमा ५६ मतदानस्थल र १६८ मतदान केन्द्र छन्।

यस्तै क्षेत्र नम्बर २ मा एक लाख ३७ हजार १५२ जना मतदाता छन्। तीमध्ये ६७ हजार ८५७ पुरुष र ६९ हजार २९४ महिला एवं एकजना तेस्रोलिङ्गी छन्। यहाँ ४८ वटा स्थल र १५२ वटा केन्द्रबाट ती मतदाताले मतदान गर्नेछन्।

क्षेत्र नम्बर ३ मा एक लाख ५५ हजार ३०९ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय चितवनले जनाएको छ। तीमध्ये ७५ हजार ६९६ जना पुरुष र ७९ हजार ६१२ महिला एवं एकजना तेस्रो लिङ्गी छन्। उनीहरूले ६३ वटास्थल र १७४ वटा केन्द्रबाट मतदान गर्नेछन्। प्रतिनिधिसभा २०७९ मा जिल्लामा चार लाख आठ हजार ३४२ मतदाता रहेका थिए।