काठमाडौँ। अमेरिकी बालयौन दुराचारी जेफ्री एपस्टिनले २०७२ सालको भूकम्पपछि नेपालमा काम गर्ने एउटा गैरसरकारी संस्थालाई २५ हजार अमेरिकी डलर चन्दा दिएको खुलेको छ।
अमेरिकी न्याय मन्त्रालयले ३० जनवरीमा सार्वजनिक गरेको दस्ताबेजमा नेपाल उल्लेख छ। मन्त्रालयको बेवपेजमा नेपाल शब्द राखेर सर्च गर्दा १२८ वटा फाइल भेटिन्छन्। जसमध्ये एउटा इमेल अमेरिकी गैरसरकारी संस्था ‘सेकेन्ड रेस्पोन्स’ले एपस्टिनलाई लेखेको छ। एपस्टिनले दिएको रकम नेपालका भूकम्पपीडित बालबालिकामा खर्च गरिएको उल्लेख छ।
सेकेन्ड रेस्पोन्सका संस्थापक विलियम स्पेयरले २२ कात्तिक २०७२ मा एपस्टिनलाई इमेल लेख्दै २५ हजार डलर चन्दा दिएकामा धन्यवाद दिएका छन्। “गत वर्ष २५ हजार अमेरिकी डलर वित्तीय सहयोगले नेपालमा सहयोग कार्य तथा अमेरिका तथा विदेशमा तालिम दिन सहयोग पुग्यो‚” इमेलमा भनिएको छ, “सात सदस्यीय टिमले करिब दुई महिना नेपालमा बिताए र शिक्षक तथा स्थानीयको क्षमता वृद्धिमा काम गरे।” सेकेन्ड रेस्पोन्सले नेपालका गैरसरकारी संस्था, विद्यालय, अनाथाश्रममा काम गरेको वेबसाइटमा राखेको विवरणमा देखिन्छ। स्पेयरले थप कार्यक्रमका लागि ५० हजार अमेरिकी डलर पनि माग गरेका छन्।
बाल यौनदुराचारको गम्भीर अभियोग लागेपछि पनि आफ्नो प्रभाव निरन्तरताका लागि एपस्टिनले परोपकारी सहयोगलाई निरन्तरता दिएका थिए। उनीबाट चन्दा पाउनेमा अमेरिकाको प्रसिद्ध हार्वर्ड विश्वविद्यालयदेखि प्राकृतिक विपत्तिमा नेपालजस्तो देशमा काम गर्ने गैरसरकारी संस्थासमेत थिए। एपस्टिनको शक्तिशाली र प्रभावशाली व्यक्तिहरूको उठबस पहिलेदेखि नै रहँदै आएको थियो।
अमेरिकाका फ्लोरिडामा प्रहरीले २००६ मा अनुसन्धानमै एपस्टिनको बाल दुराचारको प्रमाण भेटिएको थियो २००८ मै उनीमाथि अभियोग लागेकामाथि बाल यौनदुराचारको आरोप लागेको थियो।
अमेरिकाका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प, पूर्वराष्ट्रपति बिल क्लिन्टन, बेलायतका पूर्वराजकुमार एन्ड्रयु, विश्वका सबैभन्दा धनी व्यक्ति इलोन मस्क, माइक्रोसफ्टका पूर्वअध्यक्ष बिल गेट्सदेखि हलिउडका नाम चलेका कलाकारसँग एपस्टिनको उठबस रहेको देखिन्छ। कानुन मन्त्रालयले जारी दस्ताबेजमा अमेरिकी राष्ट्रपति ट्रम्पको नाम हजारौँपटक उल्लेख छ। एपस्टिनले आफ्नो सम्पत्ति र शक्तिको प्रयोग गर्दै मुद्दाहरूलाई दबाउँदै आएका थिए।
पछिल्लोपटक सार्वजनिक कागजातहरूले २००८ मा गम्भीर अभियोगमा सजाय पाउँदा पनि आफ्नो प्रभावलाई बनाइ राख्न सफल भए भन्ने देखाउँछ।
२०१८ मा मायमी हेराल्डले न्यायको गलत प्रयोग गरिएको भन्दै २००८ को सम्झौताको विषयलाई बाहिर ल्याएपछि यो विषयमा जनसाधारणमा तीव्र आक्रोश देखिएको थियो।
२०१९ जुलाईमा यौनकार्यका लागि नाबालकको तस्करी गरेको आरोपमा पक्राउ गरेको थियो। त्यसै वर्षको १० अगस्तमा ह्यानहटनको जेलमा उनी मृत भेटिएका थिए। आत्महत्या गरेको बताइएको थियो। ३० जनवरीमा अमेरिकाको न्याय मन्त्रालयले एपस्टिनका ३५ लाखभन्दा बढी कागजात सार्वजनिक गरेको छ।
जसमा ३० लाखभन्दा बढी एक लाख ८० हजारभन्दा बढी फोटो र दुई हजार भिडियो पछिल्लोपटक सार्वजनिक गरिएको छ। अमेरिकाको न्याय मन्त्रालयले समीक्षा गरेका ६० लाख दस्ताबेजमध्ये यो आधा मात्रै सार्वजनिक गरिएको हो।