खोटाङ। यहाँको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित लाकुरीभञ्ज्याङमा आज सुमो दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।
मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने उक्त सडकखण्डमा ना१ज ८७८१ नम्बरको सुमो अनियन्त्रित भई सडकको भित्तातर्फ पल्टिँदा भुटान थिम्बुका ७२ वर्षीय कार्दुङ, डोटीको पूर्वीचौकी गाउँपालिका–४ सानागाउँका ३५ वर्षीय लोकराज जोशी र गोरखाको चुमनुब्री गाउँपालिका–८ का ५८ वर्षीय लोप्साङ लामा घाइते भएका हुन्।
घाइतेहरूलाई उपचारका लागि उदयपुरको जनसेवा क्लिनिक घुर्मीमा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले जानकारी दिए।
सुमो केपिलासगढी गाउँपालिका–४ बाक्सिलाबाट हलेसी हुँदै काठमाडौँतर्फ जाँदै गरेको थियो। मध्यपहाडी लोकमार्गअन्तर्गत सडकखण्डमा पर्ने विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसी दर्शन गरेर काठमाडौँ फर्कनेक्रममा सुमो दुर्घटनामा परेको हो। सुमोमा सात यात्रु सवार रहेका थिए।