सुर्खेत। उच्च अदालत सुर्खेतले चालु आवको ६ महिनामा ५३.१ प्रतिशत मुद्दा फर्स्योट गरेको छ।
अदालतले यो वर्षका साउनदेखि पुस मसान्तसम्म ३५९ वटा मुद्दा फर्स्योट गरेको जनाएको छ। चालु आवमा दर्ता भएका र गत आवबाट जिम्मेवारी सरेर आएका कुल ५६४ मुद्दामध्ये पुस मसान्तसम्मका २०५ मुद्दा फर्स्योट हुन बाँकी रहेको अदालतका प्रवक्ता निमित्त रजिस्ट्रार प्रेमप्रकाश थापाले जानकारी दिए।
उनका अनुसार मेलमिलाप हुनसक्ने प्रकृतिका १३४ मुद्दामध्ये ३२ प्रतिशत मुद्दा मेलमिलापको माध्यमबाट फर्स्योट गरिएको छ।
उच्च अदालत सुर्खेत मातहत रहेका जिल्ला अदालतहरूमध्ये जाजरकोट जिल्ला अदालतबाट ३४.९६ प्रतिशत‚ दैलेख अदालतबाट ६३.६३ प्रतिशत‚ रुकुम पश्चिम अदालतबाट ३४.३२ प्रतिशत‚ सल्यान अदालतबाट ५५.२८ प्रतिशत र सुर्खेत अदालतबाट ३८.९७ प्रतिशत मुद्दा फर्स्योट भएको प्रवक्ता थापाले जानकारी दिए।
थापाका अनुसार चालु आवको ६ महिनामा उच्च अदालत सुर्खेत मातहतका जिल्ला अदालतहरूबाट दुई करोड पाँच लाख ५४ हजार ६०६ रुपैयाँ जरिवाना फर्स्योट भएको छ। यी अदालतबाट जम्मा जरिवाना रकममध्ये २५ करोड ७५ लाख ९२ हजार ५६५ रुपैयाँ फर्स्योट गर्न बाँकी रहेको उनले बताए।
उच्च अदालत सुर्खेतका मुख्य न्यायधीश हरिप्रसाद भण्डारीले सर्वोच्च अदालतको तेस्रो पञ्चवर्षीय रणनीतिअनुसार सुर्खेत उच्च अदालतले काम गरिरहेको बताए। उनले जनस्तरमा सचेतना बढेकाले पछिल्लो समय मुद्दा दर्ताको संख्या पनि बढेको भण्डारीले बताए। “अदालतमा मुद्दा धेरै पर्नु खुसी हुनुपर्ने विषय होइन तर जनस्तरमा कानुनी साक्षरता बढेका कारण न्यायका लागि न्यायलयसम्म पुग्नु सकारात्मक छ‚” उनले भने।
मुख्य न्यायाधीश भण्डारीले उच्च अदालत मातहतका जिल्ला अदालतबाट कैद र जरिवानाको फर्स्योट अवस्था सन्तोषजनक रहेको बताए। यद्यपि उत्साहित हुनुपर्ने अवस्था भने नरहेको उनले बताए।