काठमाडौँ
००:००:००
२१ माघ २०८२, बुधबार

२१ माघ २०८२
अ+
अ-

गलकोट (बागलुङ) । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा बागलुङमा दुई हजार बढी कर्मचारी परिचालन गरिने भएको छ ।

बागलुङमा निर्वाचन प्रहरी र नेपाल प्रहरी गरी दुई हजार नै सुरक्षाकर्मी परिचालन गर्ने तयारी भएको छ । निर्वाचनमा नेपाली सेना र सशस्त्र प्रहरी आवश्यकताका आधारमा खटिने तयारी भइरहेको छ ।

बागलुङमा कायम रहेको १०७ मतदानस्थल र २३० मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत र अन्य कर्मचारीहरू गरी दुई हजार ६० जना कर्मचारी खटाउने तयारी भइरहेको जिल्ला निर्वाचन कार्यालय बागलुङले जनाएको छ ।

बागलुङमा २३० मतदान अधिकृत, २३० सहायक मतदान अधिकृतसँगै एउटा मतदान केन्द्रमा अन्य सात जनाका दरले एक हजार ६१० कर्मचारी परिचालन गरिने तयारी भएको निर्वाचन कार्यालय बागलुङका सूचना अधिकारी गोकुल शर्माले जानकारी दिए।

निजामती कर्मचारीबाट मतदान अधिकृत र सहायक मतदान अधिकृतमा प्राथमिकता दिइएको र अपुग कर्मचारीलाई शिक्षकबाट ल्याउने तयारी गरिएको छ । बागलुङमा ६३७ नेपाल प्रहरी र एक हजार २९८ निर्वाचन प्रहरी परिचालन गरिने तयारी भएको बागलुङका प्रहरी उपरीक्षक तिलक भारतीले जानकारी दिए। उनले पहिलो घेरा र मतपेटिकाको सुरक्षामा नेपाल प्रहरी खटिने भए पनि बाहिरी घेरामा आवश्यकताका आधारमा सशस्त्र प्रहरी र नेपाली सेना समेत खटिने भारतीले जानकारी दिए। उनले सशस्त्र र नेपाली सेनाको संख्याको तथ्यांक सार्वजनिक गर्न नमिल्ने बताए ।

“मोबाइल टोली भन्ने प्रहरीको छुट्टै संयन्त्र हुन्छ जहाँ समस्या हुन्छ, त्यस स्थानमा तुरुन्तै पुग्छ”, नेपाली सेना र सशस्त्र प्रहरी मतदान केन्द्रको बाहिर अलर्ट हुन्छ, जनताले निर्धक्क आफ्नो मत जाहेर गर्न सक्छन्”, भारतीले भने । बागलुङमा निर्वाचन र नेपाल प्रहरी गरी एक हजार ९३५ सुरक्षाकर्मी र दुई हजार ६० कर्मचारी गरी तीन हजार ९९५ जनशक्ति परिचालन गरिने भएको छ । जसमा नेपाली सेना र सशस्त्र प्रहरी बल अलग्गै खटिने छन् ।

बागलुङमा सुरक्षा संवेदनशीलता, मतदाताको सङ्ख्या घटबढ, तथा पायक पर्ने स्थानलगायत कारण एक मदतानस्थल थप गरेको र एक मतदान केन्द्र घटाएर १०७ मतदानस्थल र २३० मतदान केन्द्र कायम गरिएको हो । दुई मतदानस्थललाई स्थानान्तरण गरिएको छ ।

१० स्थानीय तह र दुई प्रतिनिधिसभा सदस्य रहेको कूल एक लाख ९३ हजार ३८१ जना मतदाता कायम भएका छन् । जिल्ला निर्वाचन कार्यालय बागलुङका अनुसार ९४ हजार ८०६ पुरुष र ९८ हजार ५७४ महिला मतदाता रहेका छन् । यसपटक दुई प्रतिनिधि सभा सदस्यका लागि २३ जना चुनावी मैदानमा छन् ।

क्षेत्र नं. १ मा नेपाल मानवतावादी पार्टीका भक्तबहादुर विक, राष्ट्रिय प्रजातन्त्र पार्टीका कल्याण आचार्य, मंगोल नेशनल अर्गनाइजेशनका गुमाकुमारी बुढा रानामगर, राष्ट्रिय स्वतन्त्र पार्टीका सुशील खड्का, नेपाल कम्युनिष्ट पार्टी एमालेका हीराबहादुर केसी, प्रगतिशील लोकतान्त्रिक पार्टीका चित्रप्रसाद सापकोटा, नेपाली काँग्रेसका भीमबहादुर श्रीस राना चुनावी मैदानमा छन् ।

त्यसैगरी नेशनल रिपब्लिक नेपालका सहविर थापा, राष्ट्रिय जनमोर्चा पार्टीका कृष्णप्रसाद शर्मा अधिकारी, श्रम संस्कृति पार्टीका लालबहादुर घर्ती र नेपाल कम्युनिष्ट पार्टी माओवादीका टेकबहादुर केसी मैदानमा छन् ।

क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसबाट टेकराज पौडेल, नेकपा (एमाले) बाट मन्जु शर्मा चालिसे, नेपाली कम्युनिष्ट पार्टीबाट ज्ञामनाथ गैरे, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सोम शर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता अञ्चल शाही, श्रम संस्कृति पार्टीका हर्कबहादुर पुन, नेकपा (माओवादी) का लोकेन्द्र घिमिरे मैदानमा छन् । प्रगतिशील लोकतान्त्रिक पार्टीका पदम कुँवर, नेपाल मानवतावादी पार्टीका टेकप्रसाद कामी, मंगोल नेशलन अर्गनाइजेशनबाट जुनबहादुर थापामगर, जनता समाजवादी पार्टीका पूर्णबहादुर घर्ती र नेशनल रिपब्लिक पार्टीका नरबहादुर बुढा चुनावी मैदानमा छन् ।