काठमाडौँ
००:००:००
२१ माघ २०८२, बुधबार

२१ माघ २०८२
अ+
अ-

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार एक वृहत बजेट प्याकेजमा हस्ताक्षर गरेका छन् । जसले शनिबारदेखि सुरु भएको आंशिक सरकारी शटडाउनलाई अन्त्य गरिदिएको छ ।

शुक्रबार सिनेटबाट स्वीकृत भएपछि मंगलबार दिउँसो यो विधेयक तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सबाट झिनो मतले पारित भएको थियो । यो पछिल्लो प्याकेजले आगामी सेप्टेम्बर ३० मा समाप्त हुने चालु आर्थिक वर्षको बाँकी अवधिका लागि धेरै अमेरिकी संघीय निकायहरूलाई बजेट उपलब्ध गराउनेछ । यी निकायहरूमा रक्षा मन्त्रालय, शिक्षा मन्त्रालय, स्वास्थ्य र मानव सेवा मन्त्रालय, श्रम मन्त्रालय, यातायात मन्त्रालय र आवास तथा सहरी विकास मन्त्रालय समावेश छन् ।

सुरुमा वृहत बजेट प्याकेजमा समावेश गरिएको गृह सुरक्षा मन्त्रालय (डीएचएस) को बजेट भने हटाइएको छ । यसको सट्टा उक्त मन्त्रालयलाई हालको बजेट स्तरमा दुई हप्ताको निरन्तर प्रस्ताव (कन्टिन्युइङ रिजोलुसन) दिइनेछ । जसले दुवै पक्ष र ह्वाइट हाउसलाई आप्रवासन प्रवर्तनमा वार्ता जारी राख्न समय दिनेछ । मिनियापोलिसमा संघीय सुरक्षाकर्मीहरूद्वारा गरिएका हालैका दुई घातक गोलीकाण्डले डेमोक्र्याटहरूलाई आप्रवासन निकायहरूको सञ्चालन विधिमा परिवर्तन खोज्न प्रेरित गरेको छ ।

सिनेटका अल्पसंख्यक नेता चक शुमरले अध्यागमन र भन्सार प्रवर्तन (आईस) लाई कानूनी रूपमा उचित नियन्त्रण र सुधार नगरेसम्म डीएचएस बजेट विधेयक सिनेटबाट पारित हुन आवश्यक मत प्राप्त नहुने बताए । हालका वर्षहरूमा, रिपब्लिकन र डेमोक्र्याटिक पार्टीहरू बीचको राजनीतिक ध्रुवीकरण तीव्र हुँदै जाँदा अमेरिकी संघीय सरकार पटक–पटक शटडाउन वा शटडाउनको संघारमा पुग्ने संकटमा फसेको छ । ४३ दिनसम्म चलेको कीर्तिमानी संघीय सरकारको शटडाउन दुई महिना भन्दा बढी समयअघि मात्र अन्त्य भएको थियो ।