काठमाडौँ। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको नैतिकतालाई प्रवर्द्धन गर्ने उद्देश्यले टिकटकले निर्वाचन आयोग नेपालसँग सहकार्य गरेको छ। यसका लागि आयोग र टिकटकबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। आयोग परिसरमा बुधबार आयोजित कार्यक्रममा समझदारीपत्र आदान-प्रदान गरियो।
यही सहकार्यअन्तर्गत टिकटकको प्रतिनिधिले निर्वाचन नैतिकतासम्बन्धी क्षमता अभिवृद्धि कार्यशाला पनि गरेको थियो। कार्यशालामा जिम्मेवार डिजिटल सहभागिताको प्रवर्द्धन, भ्रामक सूचनासँग जुध्ने उपाय र सरोकारवालाबीच निर्वाचनको गरिमासम्बन्धी बुझाइ सुदृढ गर्ने विषयमा छलफल गरिएको थियो।
निर्वाचनलाई मध्यनजर गर्दै आयोजना गरिएको कार्यशालामा आयोगका पदाधिकारीलाई टिकटकले आफ्नो प्लेटफर्मले निर्वाचन प्रक्रियाको संरक्षण कसरी गर्छ भन्नेबारे जानकारी गराएको थियो। यस क्रममा टिकटकका सामुदायिक निर्देशिका, भ्रामक सूचना, राजनीतिक सामग्री तथा भ्रामक व्यवहारसम्बन्धी नीतिहरूबारे प्रस्तुति दिइएको थियो। साथै प्रयोगकर्ताले विश्वसनीय सूचना पहुँच गर्न, सम्भावित उल्लङ्घनबारे जानकारी गराउन र निर्वाचनसम्बन्धी सामग्री प्लेटफर्ममा कसरी व्यवस्थापन गरिन्छ भन्ने बुझ्न सहयोग गर्ने टिकटकका उपकरण तथा सुविधाबारे पनि जानकारी गराइएको थियो।
“कुनै पनि लोकतन्त्रका लागि निर्वाचन अत्यन्त महत्त्वपूर्ण क्षण हो। सार्वजनिक संवादलाई आकार दिने प्लेटफर्मका रूपमा टिकटकले आफ्नो जिम्मेवारीलाई गम्भीरतापूर्वक लिन्छ। यस सहकार्य मार्फत हामीले सचेत सहभागिता प्रवर्द्धन गर्ने, निर्वाचनको निष्पक्षतालाई सुदृढीकरण गर्ने र सकारात्मक डिजिटल अभिव्यक्तिका लागि सुरक्षित वातावरण उपलब्ध गराउने लक्ष्य राखेका छौं,” टिकटक दक्षिण एसियाका सार्वजनिक नीति तथा सरकारी सम्बन्ध प्रमुख फिर्दौस मोत्तकिनले भने।

आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले टिकटकसँगको सहकार्य स्वागतयोग्य रहेको प्रतिक्रिया दिए। उनले भने‚ “डिजिटल प्लेटफर्मको जिम्मेवार प्रयोग र निर्वाचन नैतिकता प्रवर्द्धनका लागि टिकटकसँगको यो सहकार्यलाई निर्वाचन आयोग स्वागत गर्दछ। यस्ता सहकार्यले भ्रामक सूचनाबारे सचेतना अभिवृद्धि गर्न र निर्वाचन प्रक्रियामा सचेत सहभागितालाई टेवा पुर्याउँछन्। ”
टिकटकले निर्वाचन नैतिकता सुदृढ गर्न र नेपाली समुदायका लागि विश्वसनीय सूचनाको वातावरण बनाउन आयोग तथा अन्य सरोकारवालासँगको निरन्तर रूपमा सहकार्य गर्नेछ। विश्वव्यापी प्लेटफर्मका रूपमा प्रयोगकर्ताको विश्वास कायम राख्न, भ्रामक सूचनाको जोखिम कम गर्न र स्वस्थ प्रतिस्पर्धालाई प्रवर्द्धन गर्न निर्वाचनको नैतिकता सुनिश्चित गर्नु अत्यावश्यक छ। टिकटकका नीतिहरू तथा उपलब्ध स्रोतसामग्रीबारे थप जानकारीका लागि टिकटक ग्लोबल इलेक्सन इन्टिग्रिटी हबमा हेर्न सकिनेछ।