काठमाडौं । काठमाडौं महानगरपालिका–६ टुसालस्थित रिन्जी लामाको घरबाट १ करोड बराबरको सुनको गहना चोरीमा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ ।
गएराति नागार्जुन नगरपालिकास्थित महांकालबाट चोरीमा संलग्न प्रेम थारूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रमेश थापाले जानकारी दिए ।
मंगलबार मध्यान्ह रिन्जी लामाको घरबाट थारूले ३० तोला सुन, चाँदीका गहनासहित १ करोड ४ लाख ५३ हजार बराबरको सामान चोरेको प्रहरी अनुसन्धान निष्कर्ष छ ।
नेपालगञ्ज घर भएका थारूलाई जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
पक्राउ गर्न जाँदा भाग्न खोजेपछि उनलाई गोली प्रहार गरेर नियन्त्रणमा लिइएको थियो । थारूको खुट्टामा गोली लागेको छ । उनको अहिले ट्रमा सेन्टरमा उपचार भैरहेको छ ।