काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बैतडीको पुर्चौंडी नगरपालिकामा १३ जनाको ज्यान जानेगरी भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्।
सभापति थापाले आज शोक विज्ञप्ति मार्फत दुर्घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेहरूको उपचार प्रबन्ध मिलाउनुपर्ने बताए।
“बैतडीको पुर्चौडी नगरपालिकामा भएको बस दुर्घटनामा १३ जनाको असामयिक निधन भएको खबरले मलाई मर्माहत तुल्याएको छ। विवाह उत्सवबाट फर्किएका आफन्तहरूको यस अकल्पनीय मृत्युले स्तब्ध बनाएको छ,” आज विज्ञप्ति जारी गर्दै सभापति थापाले उल्लेख गरेका छन्, “यस पीडादायी घडीमा मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामना साथ शोकाकूल परिवारजनमा पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना व्यक्त गर्दछु। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उहाँहरूको उचित उपचारको प्रबन्ध मिलाउन सरकारसँग आग्रह गर्दछु।”
बिहीबार जन्ती बोकेको बस दुर्घटना भएको थियो। बैतडीको पुर्चौंडी नगरपालिका–७ भवनेबाट बझाङतर्फ गइरहेको सुप प्र ०२ ००१ ख १११९ नम्बरको बस पुर्चौंडी–७ बडगाउँ मोडमा दुर्घटनामा परेको हो। दुर्घटनामा आठ जनाको घटनास्थलमा र अन्य पाँच जनाको डडेल्धुरा अस्पतालमा मृत्यु भएको थियो। दुर्घटनामा अन्य ३४ जना घाइते भएका छन्। घाइतेहरूको डडेल्धुरा, धनगढी र बझाङमा उपचार भइरहेको छ।