काठमाडौं । न्युजिल्यान्डविरुद्ध सात विकेटको सहज जित निकाल्दै दक्षिण अफ्रिका आईसीसी टी–२० विश्वकप–२०२६ को सुपर–८ मा स्थान सुरक्षित गर्ने पहिलो टिम बनेको छ ।
शनिबार भारतको नरेन्द्र मोदी क्रिकेट रंगशालामा सम्पन्न खेलमा समूह ‘डी’ को खेलमा न्युजिल्यान्डले प्रस्तुत गरेको १७६ रनको लक्ष्य दक्षिण अफ्रिकाले १७.१ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो ।
दक्षिण अफ्रिकाका कप्तान तथा ओपनर आइदेन मार्करमले सर्वाधिक ८६ रन बनाए । ओपनिङदेखि टिमको जितसम्म अविजित रहेका मार्करमले कप्तानी इनिङ खेल्दा ४४ बलमा आठ चौका र चार छक्का प्रहार गरे । मार्करमले ४.४ ओभरमा अर्का ओपनर क्विन्टन डी ककसँग ६२ रनको साझेदारी गर्दै दक्षिण अफ्रिकालाई विस्फोटक सुरुआत दिलाएका थिए ।
रायान रिकेलटन र डेवाल्ड ब्रेविसले समान २१ रन जोडे । डेविड मिलरले १७ बलमा एक चौका र एक छक्कासहित २४ रन थपे ।
न्युजिल्यान्डका लकी फर्गुसन, जिम्मी निसम र रचिन रविन्द्रले समान एक विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङमा आएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७५ रनको योगफल खडा गरेको थियो ।
न्युजिल्यान्डका मार्क च्याम्पमनले २६ बलमा ६ चौका र दुई छक्कासहित ४८ रन बनाए । यस्तै, डार्यलले ३२, फिन एलनले ३१, जिम्मी निसमले २३ रन जोड्दा टिम सेफर्ट र रचिन रविन्द्रले समान १३ रन थपे ।
दक्षिण अफ्रिकाले चार विकेट लिए । चार ओभरमा उनले ४० रन खर्चिए । लुंगी एन्गिडी र कोर्बिन बोस्चले समान एक विकेट लिए । दक्षिण अफ्रिकाले यसअघि पहिलो खेलमा क्यानडाविरुद्ध ५७ रनको र दोस्रो खेलमा अफगानिस्तानविरुद्ध सुपर ओभरमा जित निकालेको थियो ।
यो हारसँगै न्युजिल्यान्डले भने सुपर–८ का निम्ति अन्तिम खेल कुर्नुपर्ने भएको छ । न्युजिल्यान्डले पहिलो खेलमा अफगानिस्तानविरुद्ध पाँच विकेटको र दोस्रो खेलमा युनाइटेड रअब इमिरेट्स (यूएई) विरुद्ध १० विकेटको जित निकालेको थियो ।