इलाम। इलामको माङसेबुङ गाउँपालिकामा सञ्चालित १६औँ संस्करणको पवित्रहाङमा गोल्डकप महिला फुटबल प्रतियोगिताको उपाधि दारिम्बा फुटबल क्लब पाँचथरले जितेको छ।
शनिबार माङसेबुङ गाउँपालिका–५ स्थित प्रस्तावित आत्मानन्द रंगशालामा भएको फाइनलमा डिफेन्डिङ च्याम्पियन जनता सेभेन स्पोर्ट्स क्लब इलामलाई ४–२ गोलले पराजित गर्दै दारिम्बाले उपाधि हात पारेको हो।
दारिम्बाका लागि स्मिता लिम्बूले दुई तथा सलिना कोइराला र सुजिता तामाङले एक–एक गोल गरे। जनता सेभेनका तर्फबाट रेखा विष्ट र कल्पना जिम्बाले समान एक–एक गोल फर्काए । सुरुआती अग्रता लिए पनि जनता सेभेन खेलअवधिभर दबाबमा रह्यो।
उपाधिसँगै विजेता दारिम्बाले नगद तीन लाख ७० सहित ट्रफी हात पार्यो। उपविजेता बनेको जनता सेभेनले नगद रु दुई लाख ७० मा चित्त बुझायो।
प्रतियोगिताको उत्कृष्ट गोलकिपर विजेता दारिम्बाकी सुजता तामाङ, उत्कृष्ट डिफेन्डर दारिम्बाकै मनिता तामाङ, उत्कृष्ट खेलाडी उपविजेता जनता सेभेनकी रेखा विष्ट, उदयीमान खेलाडी जनता सेभेनकै नविना श्रेष्ठ र सर्वाधिक गोलकर्ता जनता सेभेनकै सरिता नाथ (चार गोल) घोषित भइन्। उनीहरूले जनही नगद पाँच हजार ७० सहित ट्रफी प्राप्त गरेको आयोजक आत्मापवित्र खेलकुद समितिका अध्यक्ष मनकुमार आङबुहाङले जानकारी दिए।
स्थानीय किरात धर्मगुरुआमा पवित्रहाङमा साँवा (लिङदेन) को ७०औँ जन्मोत्सवका अवसरमा माघ २५ गतेदेखि सञ्चालित प्रतियोगितामा नेपालको इलाम, पाँचथर, झापा, मोरङ, सुनसरी एवं भारत दार्जिलिङका गरी आठ महिला टोलीको सहभागिता थियो।