काठमाडौँ
००:००:००
४ फाल्गुन २०८२, सोमबार

४ फाल्गुन २०८२
अ+
अ-

सर्लाही। मलंगवामा सब-इन्जिनियरको हत्याको विरोधमा सर्लाही जिल्ला अदालतको सेवा अवरुद्ध भएको छ।

अज्ञात व्यक्तिको गोली प्रहारबाट सब-इन्जिनियरको आइतबार राति हत्या भएपछि त्यसको विरोधमा आज (सोमबार) सर्लाही जिल्ला अदालतका कर्मचारीले सेवा अवरुद्ध गरे। जिल्ला अदालतको मूलद्वारमा धर्ना दिँदै उनीहरुले हत्याका दोषीलाई कारबाही तथा कर्मचारीको सुरक्षाको ग्यारेन्टीको माग राखे।

पूर्वाधार विकास कार्यालयमा कार्यरत सिरहाको सुखीपुर ६‚ वैशाखा घर भएका ३६ वर्षीय सब-इन्जिनियर प्रमोदकुमार यादवको अज्ञात व्यक्तिले गोली प्रहार गरी हत्या गरेका थिए । यादव आइतबार दिउँसो मात्र बुबाको काजकिरिया सकेर मलंगवा फर्किएका थिए। यादवको हत्या उनकै डेरामा भएको हो। सर्लाहीका प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काका अनुसार यादव घरबाट फर्किएलगत्तै घटना भएको हो। उनले हत्याको विभिन्न कोणबाट अनुसन्धान भइरहेको जानकारी दिए।

मोटरसाइकलमा आएका व्यक्तिले यादवलाई कोठाबाहिर बोलाएर गोली प्रहार गरेको उनकी पत्नी पुनम यादवले बताइन्। उनको देब्रे छातीमा गोली लागेको छ। घटनास्थलबाट गोलीको एउटा खोका पनि बरामद भएको छ। प्रारम्भिक अनुसन्धानका आधारमा घटनामा सानो हतियार (पेस्तोल) प्रयोग भएको पाइएको प्रहरी नायब उपरीक्षक सरोज राईले बताए। गोली लागेर ढलेका यादवलाई आइतबार राति नै प्रहरीले उद्धार गरी प्रादेशिक अस्पताल मलंगवा पुर्‍याएको थियो । अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।

हत्याको कारण खुल्न बाँकी रहेको राईको भनाइ छ। यादव श्रीमती र २ वर्षीया छोरीसँगै मलंगवामा रहेको डेरामा बस्दै आएका थिए।