रुकुम। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले विद्रोहको झन्डा उठाएको रुकुमबाट अब विकास, निर्माण र समृद्धिको बिगुल फुक्ने दाबी गरेका छन्।
रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका १२‚ कोलमा सोमबार आयोजित चुनावी कार्यक्रममा उनले दलित समुदायको उल्लेख्य बसोबास रहेको यो क्षेत्रमा दलित र मगर समुदायको विकासका लागि विशेष कार्यक्रम ल्याउने आश्वासन पनि दिए।
प्रतिनिधिसभा निर्वाचनमा रुकुम पश्चिमबाट उम्मेदवार बनेका दाहालले दलित समुदायको विकासका लागि शक्तिशाली प्राधिकरण निर्माण गर्ने घोषणा गरे। “हामीले दलित समुदायमा सकारात्मक परिवर्तन ल्याउने गरी काम गर्नेछौं,” उनले भने, “म प्रधानमन्त्री हुँदा दलित विकास प्राधिकरण बनाउने निर्णय गरेका थियौँ। सरकार ढलेपछि त्यो काम अगाडि बढेन। म यहाँको उम्मेदवार भएपछि दलित समुदायको विकासका लागि आफू पूरै शक्ति लगाउने प्रतिबद्धता जनाउँछु।” उनले दलित बाहुल्य क्षेत्रहरूलाई संरक्षित क्षेत्र बनाएर विशेष अधिकार दिन सकिने बताए।
यस्तै उनले रुकुम पूर्वलाई सडक सञ्जालले जोड्ने महत्त्वपूर्ण सडक योजनामा पनि प्रतिबद्धता जनाए। “हामी तकसेरा हुँदै सहिद मार्गबाट आएका छौँ। त्यसको स्तरोन्नति गर्ने‚ तकसेरा-सानीभेरी-उत्तरगंगा-ढोरपाटन-बेनी सडक छिचोलेर आवतजावत सहज बनाउनेतिर मेरो ध्यान रहनेछ,” उनले भने।