काठमाडौँ। पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको उपचारमा विशेष ध्यान दिन पाँच देशका १४ क्रिकेट कप्तानले पाकिस्तानी सरकारसमक्ष अपिल गरेका छन्।
इमरानकै कप्तानीमा पाकिस्तानले सन् १९९२ को विश्वकप जितेको थियो। उनी दुई वर्षदेखि कैदजीवन बिताइरहेका छन्। इमरानकी बहिनी अलिमा खानले यसअघि जेलमा आफ्नो दाजुले उपचार नपाएको र स्वास्थ अवस्था बिग्रिँदै गएको दाबी गरेकी थिइन्।
इमरानको विषयमा अपिल गर्ने विश्व चर्चित क्रिकेट कप्तानहरूमा भारतका सुनील गावस्कर, कपिल देव, अस्ट्रेलियाका एलन बोर्डर, च्यापल दाजु-भाई ग्रेग र इयान, महिला कप्तान बेलिन्डा क्लार्क, किम ह्युजेस, स्टिभ वा, इङ्ल्यान्डका माइक आर्थटन, डेभिड गोवर, नासेर हुसेन, वेस्ट इन्डिजका क्लाइभ लोयड र न्युजिल्यान्डका जोन राइट छन्।
उनीहरूले संयुक्त रूपमा हस्ताक्षर गरेको अपिलमा भनिएको छ, “पाकिस्तानका प्रतिष्ठित पूर्वकप्तान र विश्व क्रिकेटका एक महान् हस्ती इमरान खानको रिपोर्ट गरिएको उपचार र काराबासको अवस्थाबारे हामी गहिरो चिन्ता व्यक्त गर्दछौँ।”
इमरान आठ सय दिनभन्दा बढी समयदेखि जेलमा छन्। केही दिनअघि अदालतले नियुक्त गरेको एक स्वतन्त्र वकिलले जेलमा पूर्वप्रधानमन्त्रीको दाहिने आँखामा १५ प्रतिशत मात्र दृष्टि बाँकी रहेको र उनको गुनासोलाई तीन महिनादेखि बेवास्ता गरिएको बताए।