हेटौँडा। पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा १९‚ सान्नानटारमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ। अर्का एकजना घाइते भएका छन्।
हेटौँडाबाट मनहरितर्फ जाँदै गरेको बा.प्र. ०३-००१ ख ११७९ नम्बरको टिपरले मनहरिबाट हेटौँडातर्फ आउँदै गरेको लु.३४प ४६७५ नम्बरको मोटरसाइकललाई मंगलबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक रूपन्देहीका २८ वर्षीय जगदीश थारूको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता (प्रहरी नायब उपरीक्षक) पुष्कर बोगटीका अनुसार दुर्घटनामा सख्त घाइते थारूलाई उपचारका लागि हेटौँडा अस्पताल ल्याएकामा चिकित्सकले मृत घोषणा गरेका थिए।
दुर्घटनामा मोटरसाइकलमा पछाडि बसेका राप्ती गाउँपालिका ६‚ दाङका २२ वर्षीय आदित्य चौधरी घाइते भएका छन्। उनको हेटौँडा अस्पतालमा उपचार भइरहेको पनि बोगटीले जानकारी दिए।
मोटरसाइकल ठक्कर दिने टिपर र चालक हेटौँडा उपमहानगरपालिका १५‚ भोर्लेका २६ वर्षीय रोहित तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।