चितवन। आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि चितवनमा विभिन्न दल र स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका उम्मेदवारमध्ये १९ जनाले बैंक कारोबारका लागि निर्वाचन कार्यालयबाट अनुमति लिएका छन्।
जिल्लामा उम्मेदवार रहेका ६४ जनामध्ये उनीहरुले बैंकिङ कारोबारका लागि अनुमति लिएका हुन्। जिल्ला निर्वाचन कार्यालय चितवनका सूचना अधिकारी नेत्रराज श्रेष्ठका अनुसार बैंकिङ कारोवारका लागि सिफारिस लिनेमा १८ जना राजनैतिक दलका उम्मेदवार हुन् भने एक जना स्वतन्त्र उम्मेदवार छन्।
उनका अनुसार यही २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि बैंकिङ खाता अनिवार्य गरिएसँगै यसका बारेमा बुझ्न र सिफारिसका लागि आवश्यक प्रक्रियाबारे जानकारी लिन उम्मेदवार र उम्मेदवारका प्रतिनिधिहरु कार्यालय आउन थालेका हुन्। उनले भने, “बैंकिङ खाता खोल्ने विषयमा जानकारी लिन आउने क्रम बढ्दो छ।”
निर्वाचन आयोगले राजनीतिक दल एवं उम्मेदवारबाट निर्वाचन प्रचारप्रसारको लागि प्राप्त हुने स्वेच्छिक आर्थिक सहयोगको रकम र त्यसको प्रचारप्रसारको लागि राजनीतिक दल एवं उम्मेदवारहरुले गर्ने खर्चलाई मितव्ययी, पारदर्शी बनाई निर्वाचनमा सुशासन कायम गर्न बैंकिङ खाता खोल्नुपर्ने प्रावधान ल्याएको हो।