काठमाडौं ।आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत सुपर–८ का खेल आजदेखि सुरु हुँदैछन् । जस अन्तर्गत पहिलो खेलमा आज न्युजिल्याण्ड र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।
खेल श्रीलंकाको कोलम्बोमा नेपाली समयअनुसार बेलुका सवा ७ बजे सुरु हुनेछ । प्रतियोगितामा पाकिस्तान समूह चरणका ४ मध्ये ३ खेलमा जित र एकमा हारसहित ६ अंक जोडेर समूह ए मा दोस्रो स्थानमा रहँदै सुपर–८ मा पुगेको हो भने समूह डी बाट तीनमा जित र एकमा हार बेहोर्दै ६ अंक जोडेको न्युजिल्याण्डले सुपर–८ को यात्रा तय गरेको थियो ।
२० राष्ट्र सहभागि प्रतियोगिताबाट आयोजक भारत र श्रीलंकासहित जिम्बावे, वेस्ट इन्डिज, दक्षिण अफ्रिका, पाकिस्तान, इंग्ल्यान्ड र न्युजिल्यान्ड सुपर–८ मा पुगेका छन् ।
सुपर–८ मा पुगेका टोलीमध्ये समूह एकमा भारत, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र जिम्बावे तथा समूह दुईमा इंग्ल्याण्ड, न्युजिल्याण्ड, पाकिस्तान र श्रीलंका रहेका छन् ।
सुपर–८ को दोस्रो खेलमा भोलि (आइतबार) साविक विजेता भारत र उपविजेता दक्षिण अफ्रिकाबीच भारतकाे अहमदाबादमा प्रतिस्पर्धा हुनेछ । टी–२० विश्वकपको फाइनल खेल फागुन २४ गते हुनेछ ।