काठमाडौँ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले केही व्यक्तिहरुले अहिले पनि फागुन २१ गते निर्वाचन हुँदैन भनी हल्ला गरिरहेकाले त्यस्ता गलत सूचनाको पछि नलाग्न सबैलाई आग्रह गरेका छन्।
गोरखपत्र संस्थानले आज काठमाडौँमा आयोजना गरेको निर्वाचन प्रचारप्रसारसम्बन्धी अभिमुखीकरण कार्यक्रमको उद्घाटन समारोहमा उनले केही कुण्ठित व्यक्तिहरूले अहिले पनि निर्वाचन हुँदैन भनी हल्ला गरिरहेकाले त्यस्ता गलत सूचनाको पछि नलाग्न आग्रह गरे। उनले तोकिएको मिति र समयमा निर्वाचन हुनेमा ढुक्क हुन सबैमा आह्वान गरे।
सञ्चारकर्मीले निष्ठापूर्वक भूमिका निर्वाह गरिरहेकाले निर्वाचन हुने वातावरण बनेको कार्यवाहक प्रमुख आयुक्त भण्डारीले बताए। “सुशासनका लागि पनि निर्वाचन हुनुपर्छ, निर्वाचनले पाँच वर्षसम्म सुशासन कायम गर्ने अख्तियारी दिनेछ। निर्वाचन आचारसंहिता लागू भइरहेको छ, आचारसंहिता उल्लंघन भयो, भनी धेरै उजुरी आएका छन्, त्यसमा छानबिन गरेर निर्णयमा पुग्छौँ। सूचना सम्प्रेषण पनि आचारसंहिताभित्र बसेर गर्नुपर्छ, आचारसंहिता अनुसार मत सर्वेक्षण गर्न पाइँदैन, मत सर्वेक्षणका नाममा निर्वाचनअघि यसले जित्छ र उसले हार्छ भनेर लेख्दा जित्नेले हार्ने र हार्नेले जित्ने अवस्था आउने देखिएकाले यसो गर्नुहुँदैन”, उनले भने।
प्रतिष्ठित व्यक्ति स्वयं संविधानको धारा १९ ले अधिकार दिएको भन्दै मत सर्वेक्षणमा लागेकाले सर्वोच्च अदालतबाट यसअघि यस्तै विषयमा भएको व्याख्या र विश्लेषण हेर्न पनि कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले ध्यानाकर्षण गराए। निर्वाचन पर्यवेक्षकले गर्ने पर्यवेक्षणका विषयमा पनि समाचार संकलन गर्न उनले सञ्चारकर्मीलाई आह्वान गरे। फागुन २१ गते हुन लागेको निर्वाचन शताब्दीकै पेचिलो भए पनि यसलाई आयोगले सहज रूपमा सम्पन्न गर्न लागेको उनले जानकारी दिए।
चलायमान अवस्थाबाट भाँडिएको देशलाई पुनः चलायमान बनाउन पनि निर्वाचन आवश्यक रहेकामा उनले जोड दिए। आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले सबै नागरिक मतदानका लागि जाने र यसअघिको निर्वाचनमा भन्दा बढी प्रतिशत मतदान हुने गरी सञ्चारमाध्यमले मतदाता शिक्षा दिइरहेकाले त्यसलाई अबको एक हप्ता तीव्र बनाइनुपर्नेमा जोड दिए। विसं २०७९ को निर्वाचनमाभन्दा बढी प्रतिशत मतदान भयो भने सफल भएको मानिने उनको भनाइ छ।