इरान हमला
इरानमा रहेका १० मध्ये ६ जना मात्र स्वदेश फर्किन बाँकी
काठमाडौँ। अमेरिका र इजरायलले इरानमा गरेको हमलापछि मध्यपूर्व असुरक्षित भएको छ। सुखद प्रसंग के छ भने, अहिलेसम्म मध्यपूर्वका १३ देशमा रहेका १७ लाख २९ हजार २८८ नेपाली सुरक्षित छन्। मध्यपूर्वको तनाव र नेपालीहरूको अवस्थाबारे जानकारी दिन आइतबार परराष्ट्र मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा मध्यपूर्वका नेपालीहरू सुरक्षित रहेको जानकारी दिइएको हो। मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालले भने, “मध्यपूर्वका सबै नेपालीहरूको सुरक्षा सरकारको उच्च प्राथमिकतामा छ। त्यहाँ रहनुभएका नेपालीहरू कोही पनि नआत्तिनुहोला, सरक्षित रहनुहोला। सरकारले सबैको सुरक्षा सुनिश्चित गर्नेछ।”
परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको आँकडाअनुसार इरानमा अब ६ जना मात्र नेपाली छन्। त्यहाँ रहेका १० मध्ये दुई जना पहिल्यै नेपाल फर्किएका थिए भने अरू दुई जना फर्किने क्रममा छन्। इरानमा रहेका ६ मध्ये सबै नेपाली सुरक्षित स्थानमा रहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले जानकारी दिए। उनले भने, “इरानका सबै नेपाली सुरक्षित छन्। मध्यपूर्वका हाम्रा १० वटै नेपाली नियोगहरूलाई हिजैबाट सम्बन्धित देशका नेपालीहरूको उद्धार र सुरक्षाका लागि सक्रिय पारिएको छ।”
मध्यपूर्वमा तनाव बढेपछि सरकारले त्यहाँ रहेका नेपालीलाई घरभित्रै सुरक्षित रहन र सम्बन्धित देशको सुरक्षा मापदण्ड पालना गर्न आग्रह गरेको छ। क्षेत्रीका अनुसार तनावग्रस्त क्षेत्रका लागि परराष्ट्र मन्त्रालयले ट्राभल एड्भाइजरी जारी गरेर सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। आइतबार बिहान मुख्यसचिव सुमनराज अर्यालको अध्यक्षतामा बसेको बैठकले परराष्ट्रसचिव अमृतबहादुर राईको संयोजकत्वमा मध्यपूर्वका नेपालीको आपत्कालीन उद्धारका लागि बहुपक्षीय सरोकारवाला सम्मिलित र्यापिड एक्सन टिमसमेत गठन गरेको छ। परराष्ट्र मन्त्रालयको मध्यपश्चिम एसिया तथा अफ्रिका महाशाखा प्रमुख रामकाजी खड्काले मध्यपूर्वमा जारी तनाव थप बढ्दै गएमा त्यहाँ रहेका नेपालीहरूलाई कुनै पनि बेला उद्धार गर्नुपर्ने सम्भावनाका कारण सरकारले एक्सन टिम गठन गरेको बताए। “द्वन्द्व र युद्धमा फसेका नेपालीहरूको उद्धारका लागि सरकारी तबरमा स्थायी संरचनाकै खाँचो देखिएको छ,” उनले भने।
सरकारी आँकडाअनुसार अहिले इरानमा ६ र इजरायलमा ६ हजार ५०० नेपाली छन्। इजरायलमा रहेका नेपालीमध्ये अधिकांश तलअभिभ, जेरुसेलम र हाइफामा छन्। त्यस्तै, इजिप्टमा ५०० नेपाली छन् भने ओमानमा दुई हजार ५०० छन्। कतारमा चाहिँ नेपालीको संख्या तीन लाख ५७ हजार ९१३ छ भने कुवेतमा एक लाख ७५ हजार छ। त्यसैगरी, जोर्डनमा तीन हजार छन् भने बहराइनमा नेपालीको संख्या २८ हजार छ।

परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको मध्यपूर्वका देशमा रहेका नेपालीहरूको आँकडा।
साउदी अरबमा तीन लाख ८५ हजार ८६५ र संयुक्त अरब इमिरेट्समा सात लाख नेपाली रहेको परराष्ट्र मन्त्रालयको आँकडा छ। लेबनानमा चाहिँ १५ सय नेपाली छन् भने इराकमा ३० हजार र साइप्रसमा १७ हजार नेपाली छन्।
परराष्ट्र मन्त्रालयको मध्यपश्चिम एसिया र अफ्रिका महाशाखा प्रमुख खड्काले त्यस क्षेत्रमा रहेका १० नेपाली नियोग आवश्यक परेका बेला नेपालीहरूको उद्धार गर्न तत्पर रहेको, कन्सुलर रेस्पोन्स हटलाइनको व्यवस्था गरिएको बताए। उनले भने, “मध्यपूर्वमा जारी युद्ध र द्वन्द्वको अवस्था हेरेर अनि छिमेकी मुलुकले लिने कदम हेरेर नेपालले पनि उद्धारको रणनीति तयार गर्नेछ।”
इरानविरुद्धको हमलापछि नेपालीहरू विभिन्न तरिकाले समस्यामा परेका छन्। एकथरी मध्यपूर्वका विभिन्न देशमा रोजगारीमा जान हवाई टिकट लिएका तर उड्न नपाएकाहरू छन्। अर्काथरी चाहिँ रोजगारीमा गएर मध्यपूर्वकै विमानस्थलमा अलपत्र छन् भने केही ट्रान्जिटमा रोकिएका छन्। केही नेपालीहरू भने रोजगारीका लागि जान तयार भएका तर इरान–अमेरिका तनावपछि नेपालमै रोकिएकाहरू पनि छन्। खड्काले थपे, “सबै प्रक्रिया पूरा गरेर जान नपाएकालाई वैदेशिक रोजगार विभागमार्फत रोजगारदाता कम्पनीसँग समन्वय गरेर समस्या समाधान गर्ने प्रयास पनि गरिएको छ।”