पोखरा। कास्कीमा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको छ। तीन लाख मतदाता भएको जिल्ला प्रारम्भिक संख्यामा एक लाख ८९ हजार २६७ मत खसेको छ। तीन निर्वाचन क्षेत्रबाट करिब ६१ प्रतिशत मतदान भएको हो।
यस्तै मतदान सम्पन्न भएपछि मतपेटिका मतगणनास्थलमा ल्याउने काम भइसकेको छ। नजिकका मतदानस्थलबाट गणनास्थलमा सेनाको सुरक्षामा मतपेटिका आइसकेको छ।
कास्की १ को मतगणना पोखरा महानगर १२‚ मालेपाटनमा हुँदै छ। निर्वाचन क्षेत्र २ को ड्यामसाइडस्थित सिँचाइ तथा जलस्रोत व्यवस्थापन कार्यालयमा हुने भएको छ। क्षेत्र ३ को मालेपाटनमा हुन गइरहेको छ।
मुख्य निर्वाचन अधिकृत हिमलाल बेलबासेका अनुसार राति ९ बजेसम्म सम्पूर्ण स्थानबाट मतपेटिका पोखरा आइसक्छन्।जिल्लामा अन्नपूर्ण, मादी, माछापुच्छ्रे गाउँपालिकालगायत असहज सडकखण्ड भएका पालिका छन्। उक्त स्थानबाट मतपेटिका आउन समय लाग्ने भएको हो।
बेलबासेका अनुसार प्रत्यक्ष तर्फको मतपरिणम चौबीस घण्टाभित्र गर्न प्रयास गर्ने बताए। सबै मतदानस्थलबाट मतपेटिका आएपछि सर्वदलीय बैठक बस्न साथ मतगणना गर्ने बेलबासेले जानकारी दिए।
यस्तै कास्कीबाहेक गण्डकीका अन्य जिल्ला पनि मतदान शान्तिपूर्वक सम्पन्न भएको छ। तनहुँ जिल्ला पनि पायक पर्ने स्थानबाट मतपेटिका मतगणनास्थलमा आइसकेका छन्। तनहुँमा भने सबै स्थानबाट पेटिका आउन समय लाग्नेछ।
यसपटक स्याङ्जासमेत बिनाकुनै अवरोध मतदान भएको छ। प्राय:जसो निर्वाचनमा स्याङ्जाका केही मतदान क्षेत्रमा विवाद हुने गरेको थियो। यस निर्वाचनमा बिनाकुनै अवरोध जिल्लाबाट अनुमानित ४५ प्रतिशत मत खसेको छ।