काठमाडौँ
००:००:००
३ असार २०८३, बुधबार

२१ फाल्गुन २०८२
अ+
अ-

काठमाडौं । भारत सरकारले नेपालमा सम्पन्न निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा बधाई दिँदै आगामी दिनमा नेपालको नयाँ सरकारसँग मिलेर काम गर्न इच्छुक रहेको जनाएको छ।

नेपालमा हालै सम्पन्न निर्वाचनमा नागरिकहरूको उत्साहजनक सहभागिता रहेको भन्दै भारतले त्यसलाई स्वागतयोग्य कदमका रूपमा लिएको जनाएको हो। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले सञ्चारमाध्यमहरूको जिज्ञासाको उत्तर दिँदै नेपालका नागरिकहरूले लोकतान्त्रिक अधिकार प्रयोग गर्दै मतदान प्रक्रियामा सक्रिय रूपमा सहभागी भएको उल्लेख गरेका छन्।

उनका अनुसार, चुनौतीपूर्ण परिस्थितिका बीच पनि निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन योगदान दिने नेपाल सरकार, प्रधानमन्त्री सुशीला कार्की, निर्वाचनमा संलग्न सबै निकाय तथा नेपाली जनतालाई भारतले बधाई दिएको छ।

भारतले नेपालमा शान्ति, स्थिरता र विकासका प्रयासहरूलाई निरन्तर समर्थन गर्दै आएको पनि प्रवक्ता जैसवालले बताएका छन्। निर्वाचन सम्पन्न गर्न नेपाललाई आवश्यक सवारी साधन लगायतका सामग्री उपलब्ध गराएर भारतले सहयोग गरेको विदेश मन्त्रालयले उल्लेख गरेको छ।

साथै भारतले दुवै देशबीचको ऐतिहासिक, सांस्कृतिक तथा बहुआयामिक सम्बन्धलाई अझ सुदृढ बनाउँदै पारस्परिक हितका लागि नेपालको नयाँ सरकारसँग सहकार्य गर्न तयार रहेको जनाएको छ।