विराटनगर। प्रतिनिधि सभाको निर्वाचनमा कोसी प्रदेशमा ५८.६० प्रतिशत मतदान भएको छ। कोसी प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार प्रदेशका १४ वटै जिल्लामा गरी कुल २० लाख ९४ हजार ४८३ मत खसेको छ।
कोसी प्रदेशमा कुल ३५ लाख ७४ हजार ३१० जना मतदाता रहेका थिए। खसेको कुल मतमध्ये महिलाको संख्या १० लाख ६९ हजार ५०२ र पुरुषको संख्या १० लाख २४ हजार ९७४ रहेको छ भने अन्य सातजनाले मतदान गरेका छन्।
तथ्यांकअनुसार मोरङमा सबैभन्दा बढी ६४.५६ प्रतिशत मतदान भएको छ भने खोटाङमा सबैभन्दा कम ४२.८५ प्रतिशत मात्र मत खसेको छ।
मोरङमा ६ वटा निर्वाचन क्षेत्रमा कुल पाँच लाख पाँच हजार ५१४ मत खसेको छ। मोरङमा कुल सात लाख ८३ हजार ५० मतदाता थिए। खसेको कुल मतमध्ये महिलाको सहभागिता पुरुषको तुलनामा बढी देखिएको छ। तथ्यांकअनुसार दुई लाख ६२ हजार १९६ महिला, दुई लाख ४३ हजार ३१६ पुरुष र दुईजना अन्यले मतदान गरेका छन्।
मोरङका ६ क्षेत्रमध्ये निर्वाचन क्षेत्र ५ मा सबैभन्दा बढी ७१.२८ प्रतिशत मत खसेको छ भने क्षेत्र १ मा सबैभन्दा कम ६०.३६ प्रतिशत मतदान भएको छ।
निर्वाचन क्षेत्र १ मा ६०.३६ प्रतिशत अर्थात् ७७ हजार ५८५ मत खसेको छ। त्यसैगरी निर्वाचन क्षेत्र २ मा ६२.९७ प्रतिशत ८१ हजार ३४५ जनाले मतदान गरेका छन्। त्यसैगरी निर्वाचन क्षेत्र ३ मा ६१.१७ प्रतिशत ९६ हजार ६७७, क्षेत्र ४ मा ६७.१५ प्रतिशत ८० हजार ६४ प्रतिशत, क्षेत्र ५ मा सबैभन्दा बढी ७१.२८ प्रतिशत अर्थात् ७८ हजार ५२९ मत खसेको छ। निर्वाचन क्षेत्र ६ यस क्षेत्रमा ६६.२३ प्रतिशत ९१ हजार २९२ मत खसेको छ।
झापा ६४.२४ प्रतिशत मतदान भएको छ। पाँचवटा निर्वाचन क्षेत्रमा कुल चार लाख ५८ हजार ३६२ मत खसेको छ। झापामा कुल सात लाख १३ हजार ५३७ मतदाता थिए। सुनसरीमा ६३.६२ प्रतिशत भएको भएको छ। जसमा तीन लाख ६९ हजार ६०० सयले मतदान गरेका छन्। इलाममा ५७.०४ प्रतिशत मत खसेको छ। जसमा एक लाख ३२ हजार २१४ जनाले मतदान गरेका छन्।
धनकुटामा ५४.३१ प्रतिशत ६४ हजार ३१५ मत, तेह्रथुममा ५३.५९ प्रतिशत ३९ हजार १९३ मत खसेको छ। त्यसैगरी संखुवासभामा ५२.६१ प्रतिशत ६२ हजार ९३७ मत, उदयपुरमा ५२.१५ प्रतिशत १ लख २४ हजार, ५९० मत, ताप्लेजुङमा ५१.३७ प्रतिशत ४६ हजार ४०२ मत, पाँचथरमा ४९.६३ प्रतिशत ७१ हजार १७० मत, सोलुखुम्बुमा ४८.४१ प्रतिशत ४१ हजार ४०१ मत, ओखलढुंगामा ४८.१४ प्रतिशत ५९ हजार ७९ मत, भोजपुरमा ४६.१७ प्रतिशत ५८ हजार ६९ मत र खोटाङः ४२.८५ प्रतिशत ६३ हजार ३५ मत खसेको छ।
तथ्यांकअनुसार तराईका तीन जिल्ला (मोरङ, झापा र सुनसरी) मा मतदानको उत्साह बढी देखिएको छ भने पहाडी र हिमाली जिल्लाहरूमा औसत मतदान ५० प्रतिशतको हाराहारीमा रहेको छ। मतदान कार्य सकिएसँगै अहिले सबै जिल्लाका मतपेटिकाहरू संकलन गरी मतगणना स्थलमा लैजाने कार्य भइरहेको छ। धेरैजसो स्थानमा बिहीबार रातिदेखि मतगणना सुरु गर्ने तयारी गरिएको छ।
कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरका डीआईजी विनोद घिमिरेले प्रदेशभर निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको जानकारी दिए। केही फाटफुट घटनाबाहेक सबै जिल्लामा उत्साहजनक र सुरक्षित वातावरणमा मतदान सम्पन्न भएको प्रहरीले जनाएको छ।