प्रतिनिधिसभा निर्वाचन
काठमाडौं। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत देशका विभिन्न क्षेत्रमा मतगणना जारी छ। पछिल्लो विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबैभन्दा धेरै स्थानमा अग्रता लिएको छ।
निर्वाचन आयोगका अनुसार पछिल्लो मतपरिणाममा रास्वपा र नेपाली कांग्रेसका एक-एक उम्मेदवार विजयी भएका छन्। काठमाडौँ क्षेत्र नम्बर १ बाट रास्वपाकी रञ्जु न्यौपानेले १५ हजार ४५५ मत प्राप्त गरी विजयी भएकी छन्। उनका निकट्तम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार प्रबलजंग थापाले ६ हजार २६४ मत प्राप्त गरे भने राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रले तीन हजार ९७२ मत प्राप्त गरेका छन्। यस्तै नेकपा एमालेका उम्मेदवार मोहनराज रेग्मीले एक हजार ६१८ मत प्राप्त गरे। नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार मेनका भण्डारीले ३४५ मत प्राप्त गरिन्।
यसैगरी मुस्ताङबाट कांग्रेसले जितको सुरुवात गरेको हो। मुस्ताङमा कांग्रेसका योगेश गौचन थकाली विजयी भए। उनले तीन हजार ३०७ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका इन्द्रधार डादु विष्टले एक हजार ८०६ मत प्राप्त गरिन्। त्यस्तै यस क्षेत्रमा रास्वपाका अद्वितीयचन्द्र थकालीले ७५९ मत पाएका छन्।
आयोगका अनुसार रास्वपाका ५२ उम्मेदवार अग्रस्थानमा छन्। यस्तै कांग्रेसका ६ उम्मेदवार अग्रस्थानमा छन् भने नेकपा एमालेका चार उम्मेदवारले अग्रता लिइरहेका छन्।
यस्तै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का तीन उम्मेदवार अग्रस्थानमा रहँदा राप्रपा र श्रम संस्कृति पार्टी एक-एक स्थानमा अगाडि छन्।