काठमाडौँ
००:००:००
३ असार २०८३, बुधबार

२२ फाल्गुन २०८२
रवि लामिछाने र पुष्पकमल दाहाल।
अ+
अ-

काठमाडौँ। प्रतिनिधिसभा निर्वाचनको जारी मतगणनामा राजनीतिक दलका प्रमुखमध्ये दुई दल रास्वपा र नेकपाले मात्रै अग्रता कायम गरेका छन्।

रास्वपा सभापति रवि लामिछाने चितवन २ बाट र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहालले रुकुम पूर्वबाट अग्रता कायम गरेका छन्। लामिछाने आफ्नो प्रतिद्वन्द्वीभन्दा तेब्बर मतले अघि छन्। हालसम्म लामिछानेले नौ हजार २३४ मत ल्याएका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी मीना खरेलले दुई हजार ८२९ मत ल्याएर पछ्याइरहेकी छन्। त्यसैगरी, नेकपाका संयोजक दाहाल आफ्नो प्रतिद्वन्द्वीभन्दा तीन गुणा बढी मतका साथ अग्रस्थानमा छन्। दाहालले चार हजार ३९७ मत पाएका छन्। कांग्रेसकी कुसुमदेवी थापाले एक हजार २२६ मत पाएकी छन्।

यस पटक पूर्वी रुकुममा १९ हजार १०६ मत खसेको छ। अन्य दलका प्रमुखहरू भने जारी मतगणनामा पछि परेका छन्। नेपाली कांग्रेस सभापति गगनकुमार थापा सर्लाही ४ मा पछि परिरहेका छन्। उनको निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार अमरेशकुमार सिंहले ९७३ मतका साथ अग्रता कायम  गर्दा थापाले ७४४ मत ल्याएका छन्।

नेकपा (एमाले) अध्यक्ष केपी ओली झापा ५ बाट प्रतिद्वन्द्वीसँग करिब चार गुणा मतान्तरले पछि छन्। रास्वपाका बालेन्द्र शाहले पाँच हजार २५४ मत ल्याउँदा ओलीले एक हजार २४८ मत मात्रै पाएका छन्। २०७९ सालमा भएको प्रतिनिधिसभा चुनावमा ओली ठूलो मतान्तरले विजयी भएका थिए।

२०६४ सालको संविधानसभा निर्वाचनबाहेक ओली यस निर्वाचन क्षेत्रबाट ६ पटक विजयी भएका थिए। त्यसैगरी, राप्रपा अध्यक्ष राजेन्द्रकुमार लिङ्देन पनि पछि परेका छन्। उनको निर्वाचन क्षेत्रमा रास्वपाका प्रकाश पाठक दुई हजार ३३१ मतका साथ पहिलो स्थानमा छन्। लिङ्देनले एक हजार ६०३ मत पाएका छन्। दुवैबीच ७२८ मतान्तर छ।