काठमाडौँ। तनहुँ १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्ले प्रतिनिधिसभा सदस्यमा चुनिएका छन्।
वाग्लेले ३८ हजार ४० मत पाएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्दप्रसाद भट्टराईले १६ हजार २३१ मत पाएका छन्। वाग्लेले यसअघिको चुनावमा पनि भट्टराईलाई नै हराएका थिए।
वाग्लेले १० वैशाख २०८० मा भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा तनहुँ १ बाट जितेका थिए। त्यसबेला उनले ३४ हजार ९१८ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी भट्टराईले २० हजार १२२ मत पाएका थिए।
४ मंसिर २०७९ को प्रतिनिधिसभा निर्वाचनमा जितेका रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि खाली भएको यो क्षेत्रमा उपनिर्वाचन भएको थियो।
वाग्ले अर्थशास्त्रीका रुपमा परिचित छन्। राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष उनले यूएनडीपीमा वरिष्ठ सल्लाहकारका रूपमा काम गरिसकेको अनुभव छ। अस्ट्रेलियन नेसनल युनिभर्सिटीबाट विद्यावारिधि गरेका वाग्लेले हार्बर्ड विश्वविद्यालयबाट सार्वजनिक प्रशासन र लन्डन स्कुल अफ इकोनोमीबाट अर्थशास्त्रको अध्ययन गरेका थिए।
सुरुमा नेपाली कांग्रेसमा आबद्ध उनी २०८० को उपनिर्वाचनका बेला कांग्रेस परित्याग गरेर रास्वपा प्रवेश गरेका थिए। यसपटकको चुनावताका रास्वपाले वाग्लेलाई भावी अर्थमन्त्रीका रूपमा प्रचार गरेको थियो।
कांग्रेसका भट्टराई पनि स्थानीयस्तरमा चिनिएका नेतामा पर्छन्। सामाजिक कार्यमा सक्रिय उनलाई कांग्रेसले यसपटक पनि टिकट दिएको थियो। तर उनी स्वर्णिमसँगै दोस्रोपटक पराजित भए। प्रतिस्पर्धामा एमालेकी भगवती न्यौपाने राष्ट्रियसभा सदस्यबाट राजीनामा दिएर प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेकी थिइन्। उनी तेस्रो भइन्।