काठमाडौँ। प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना जारी छ। निर्वाचन आयोगका अनुसार साँझ ५ बजेसम्म चार लाख १८ हजार ६४४ मत गनिसकिएको छ।
प्रत्यक्षतर्फ सबैभन्दा बढी क्षेत्रमा जितेर दलहरूमध्ये शीर्ष स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समानुपातिक मतमा पनि धेरै अगाडि छ। समानुपातिकमा रास्वपाले हालसम्म दुई लाख २६ हजार ५९ मत पाएको छ। यस्तै, दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ६८ हजार ७०८ मत पाएको छ।
नेकपा (एमाले)ले ५३ हजार ६४१ मत प्राप्त गरेको छ भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले २१ हजार ९६५, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले १७ हजार ७३४ र श्रम संस्कृति पार्टीले आठ हजार ६५० मत पाएका छन्।
२७५ सदस्यीय प्रतिनिधिसभामा ११० जना समानुपातिक प्रणालीबाट निर्वाचित हुने संवैधानिक व्यवस्था छ।
निर्वाचन आयोगका अनुसार यसपालि कुल मतदाता एक करोड ८९ लाख तीन हजार ६८९ रहेकामा एक करोड नौ लाख ७७ हजार ७११ मत खसेको छ।