जनकपुर। सिरहा ४ मा पाँचजना पूर्वमन्त्रीलाई पराजित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार तपेश्वर यादव निर्वाचित भएका छन्। यो क्षेत्रमा पाँचजना पूर्वमन्त्री चुनावी प्रतिस्पर्धामा थिए।
यो क्षेत्रमा पूर्वमन्त्रीहरू अजयशंकर नायक, वीरेन्द्र महतो, धर्मनाथप्रसाद यादव, विश्वेन्द्रप्रसाद पासवान, राजकिशोर यादव चुनावी प्रतिस्पर्धामा थिए।
नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार अजयशंकर नायकलाई पराजित गर्दै यादव विजयी भएका हुन्। यादवले ३६ हजार २१० मत प्राप्त गरेका थिए भने नायकले ७ हजार ९७२ मत प्राप्त गरे।
त्यसैगरी जनमत पार्टीका उम्मेदवार एवं पूर्वमन्त्री वीरेन्द्र महतोले पाँच हजार ४१ मत प्राप्त गरे। नेकपा एमालेका उम्मेदवार धर्मनाथप्रसाद साहले चार हजार २२७ मत प्राप्त गरे।
त्यसैगरी नेपाली कांग्रेसकी उम्मेदवार चन्द्रकलाकुमारी यादवले चार हजार ६१ मत प्राप्त गरिन्। जसपा नेपालका उम्मेदवार राजकिशोर यादवले तीन हजार ४८४ मत प्राप्त गरे। बहुजन शक्ति पार्टीका उम्मेदवार विश्वेन्द्र पासवानले २७९ मत प्राप्त गरे।