जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव सर्लाही क्षेत्र नम्बर ३ मा पराजित भएका छन्। उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अमरकान्त चौधरीले १७ हजार मतको अन्तरले पराजित गरेका हुन्। चौधरीले ३२ हजार ८७५ मत ल्याएर विजयी हुँदा यादवले १५ हजार २३९ मत मात्रै पाएका छन्।
यादव २०४८ सालयता राजनीतिमा छन्। २०४८ सालको संसदीय निर्वाचनमा उनी नेकपा (एमाले)बाट सुनसरी–४ मा उम्मेदवार बनेका थिए। तर, उनी पराजित भए। उनलाई नेपाली कांग्रेसका खलिल मियाँले पराजित गरेका थिए।
माघ २०६३ मा भएको मधेस आन्दोलनबाट यादव नेतृत्वको मधेसी जनअधिकार फोरमले राजनीतिक उभार पायो। जसको प्रभाव २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा देखियो। निर्वाचनमा फोरमले प्रत्यक्षतर्फको २३० सिटमध्ये ३० र समानुपातिकबाट २२ सिट जितेको थियो। मन्त्रिपरिषद्बाट मनोनीत हुने २६ मध्ये दुई जना फोरमबाट परेपछि संविधानसभामा उक्त दलको ५४ सिट भयो।
उक्त निर्वाचनमा यादव मोरङ ५ र सुनसरी ५ मा उम्मेदवार भएका थिए। मोरङमा उनी २७ हजार ५०८ मत ल्याएर विजयी भए। दोस्रो भएका कांग्रेसका अमृतकुमार अर्यालले १० हजार ३२४ मत ल्याएका थिए। यस्तै, सुनसरी ५ मा यादव २३ हजार ९३९ मत ल्याएर विजयी भएका थिए। उनका प्रतिस्पर्धी एमालेका मोहम्मद महफुज अन्सारीले नौ हजार ३८९ मत पाएका थिए।
२०७० सालको संविधानसभा चुनावसम्म पुग्दा मधेसी जनअधिकार फोरमले विभाजन भोगेको थियो। विजयकुमार गच्छदारले मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) गठन गरे। विभाजनको असर चुनावी नतिजामा पनि देखियो। यादव नेतृत्वको फोरम प्रत्यक्षतर्फ दुई र समानुपातिकमा १३ सिट मात्र सुरक्षित गर्न सक्यो। दुई क्षेत्रमा उम्मेदवार बनेका यादव मोरङ ५ मा कांग्रेसका अमृतकुमार अर्यालसँग पराजित भएका थिए। यादव सुनसरी ५ मा भने विजयी भएका थिए। उनले फोरम (लोकतान्त्रिक)का गफार अन्सारी मियाँलाई पराजित गरेका थिए।
२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा आइपुग्दा यादव नेतृत्वको पार्टी अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीसँग एकता भएर संघीय समाजवादी फोरम नेपाल भएको थियो। २०७२ सालमा जारी भएको संविधानको विरोध गर्दै उनीहरू निर्वाचनमा सहभागी भएका थिए। २०७४ सालको चुनावमा संघीय समाजवादी फोरमले प्रत्यक्षतर्फको १० स्थान र समानुपातिकतर्फ ६ गरी १६ सिट जितेको थियो। नयाँ संविधानले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १६५ र समानुपातिक ११० गरी २७५ सिट हुने व्यवस्था गरेको थियो। उक्त चुनावमा यादव निर्वाचन क्षेत्र परिवर्तन गरेर सप्तरी २ मा उम्मेदवार बनेका थिए। जसमा यादव २१ हजार ६२९ मत ल्याएर विजयी भएका थिए। उनका प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का उमेशकुमार यादवले ११ हजार ५८० मत मात्रै पाएका थिए।
२०७९ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा यादव सप्तरी २ मा पराजित भए। जनमत पार्टीका अध्यक्ष सीके राउतले ३५ हजार ४२ मत पाउँदा यादवले १६ हजार ९७९ मत मात्रै पाए। त्यसबेला यादव नेतृत्वको जनता समाजवादी पार्टीले नेकपा (एमाले)सँग चुनावी गठबन्धन गरेको थियो।
बारा २ बाट त्यसबेला विजयी भएका रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति बनाएपछि खाली भएको उक्त क्षेत्रमा वैशाख २०८० मा उपनिर्वाचन भएको थियो। त्यसबेला बारा २ बाट उम्मेदवार बनेका पार्टी अध्यक्ष यादवले २८ हजार ४१५ सहित निर्वाचित भए। उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहाले २३ हजार ३३४ मत मात्रै पाए। त्यसबेला जसपाले नेपाली कांग्रेस र माओवादी केन्द्रसहितका दलसँग गठबन्धन गरेको थियो।
यस पटकको चुनावमा पनि क्षेत्र बदलेर यादव सर्लाही ३ मा पुगेका थिए। तर, सातौँ पटकको चुनावी प्रतिस्पर्धामा उनको संसदीय यात्रा रोकिएको छ।