काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

जनमत पार्टीले जोगाउन सकेन जनमत

२४ फाल्गुन २०८२
तस्बिर : सीके राउतको फेसबुक पेज
अ+
अ-

मधेसको वैकल्पिक शक्तिका रूपमा आफूलाई अघि बढाएका जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउत प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका छन्। उनी उम्मेदवार रहेको सप्तरी २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रामजी यादव २५ हजार ५९३ मतसहित निर्वाचित हुँदा राउत तेस्रो बनेका छन्। दोस्रोमा जनता समाजवादी पार्टी (जसपा) नेपालका उमेशकुमार यादवले १२ हजार ४३० मत ल्याएका छन् भने राउतको मत आठ हजार ७४२ मात्र छ।

फागुन २०७५ सम्म राउतले स्वतन्त्र मधेस गठबन्धन नामक पार्टीमार्फत स्वतन्त्र मधेसको अभियान चलाइरहेका थिए। मधेसलाई अलग राज्य बनाउनुपर्ने उनको अभियान थियो। ६ वर्षसम्म यस्तो अभियान चलाएका राउत पटक पटक पक्राउ परेर जेल सजाय भोगे। अन्तत: २४ फागुन २०७५ मा केपी शर्मा ओली नेतृत्वको सरकारसँग १२ बुँदे सहमति गरेर मूलधारको राजनीतिमा आएका थिए। त्यसबेला उनले सरकारसँग संघीय लोकतान्त्रिक, स्वतन्त्र, स्वाधीन सार्वभौमसत्ता अविभाज्य राष्ट्र स्वीकार गरेर सम्झौता गरेका थिए।

सम्झौताको करिब एक महिनापछि चैत २०७५ मा राउतले जनमत पार्टी गठन गरे। मधेसकेन्द्रित दलहरूले मधेसका जनतालाई धोका मात्र दिएको आरोप लगाउँदै राजनीतिक गतिविधि अघि बढाएका राउत मूलधारको राजनीतिमा आएपछि उनको दललाई मधेसमा वैकल्पिक शक्तिका रूपमा हेरिएको थियो।

मधेसी जनताले उनीप्रति भरोसा गरेको २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा देखियो। निर्वाचनमा राउत जनमत पार्टीबाट सप्तरी २ मा उम्मेदवार बने। उनीसँग प्रतिस्पर्धा गर्न आएका थिए, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव। त्यसबेला जसपाले एमालेसँग चुनावी गठबन्धन गरेको थियो। तर, पनि राउतले यादवलाई फराकिलो मतान्तरले पराजित गरिदिए। राउतले ३५ हजार ४२ मत पाउँदा यादवले १६ हजार ९७९ मत मात्रै पाएका थिए।

२०७९ सालको चुनावमा जनमत पार्टीबाट प्रत्यक्षतर्फ राउतले मात्रै जितेका थिए। समानुपातिकबाट जनमतले पाँच सिट जितेको थियो। तर, यसपालिको निर्वाचनमा राउतले त्यो जनमत जोगाउन सकेनन्।

२०७९ सालको चुनावअघि सँगसँगै खुलेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यस पटकको चुनावमा दुई तिहाइ बहुमत हासिल गर्ने देखिएको छ। तर, त्यसबेला मधेसको वैकल्पिक शक्तिका रूपमा उदाएको राउत नेतृत्वको जनमत पार्टी यस निर्वाचनमा अन्य मधेसकेन्द्रित दलहरूजस्तै अलोकप्रिय देखियो। जनमतले मतदातालाई आकर्षण गर्न नसक्दा प्रत्यक्षतर्फ एक सिट पनि जित्न सकेन।

अमेरिकामा वैज्ञानिकका रूपमा कार्यरत रहेका राउत २०६८ सालमा राजीनामा दिएर नेपाल फर्किएका थिए। उनले युवा इन्जिनियर पुरस्कार, महेन्द्र विद्याभूषण, कुलरत्न गोल्डमेडलजस्ता पुरस्कार र सम्मान पाएका थिए।