काठमाडौं। राष्ट्रिय सभा सदस्य निर्वाचनमा निर्वाचित १८ सदस्यले सोमबार पद तथा गोपनीयताको शपथ लिँदै छन्। राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन २०७५ अनुसार अध्यक्ष नारायणप्रसाद दाहालले संविधानको धारा ८६ को २ बमोजिम निर्वाचित सदस्यलाई शपथ दिलाउनेछन्।
संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले एक सूचना जारी गर्दै शपथमा एक घण्टाअगावै औपचारिक वा आफ्नो पहिचान झल्कने पोसाकमा उपस्थिति हुन आग्रह गरेका छन्। कुनै पनि निर्वाचित सदस्यले आफ्नो मातृभाषामा शपथ लिन पाउने व्यवस्था पनि छ। कानुन, न्याय तथा मानवअधिकार समितिको हल सिंहदरबारमा दिउँसो पद तथा गोपनीयताको शपथ हुन लागेको हो।
गत ११ माघमा भएको राष्ट्रिय सभा निर्वाचनमा कांग्रेस र एमालेले गठबन्धन गरेपछि उनीहरूकै उम्मेदवारले जितेका छन्। कांग्रेसबाट नौजना सदस्यमा कोसीबाट सुनीलबहादुर थापा, मधेसबाट धर्मेन्द्र पासवान, रञ्जित कर्ण, बागमतीबाट गीता देवकोटा, गण्डकीबाट जगत तिमल्सिना, लुम्बिनीबाट वासुदेव घिमिरे र चन्द्रबहादुर केसी, कर्णालीबाट ललितजंग शाही र सुदूरपश्चिमबाट खम्मबहादुर खाती निर्वाचित भएका छन्।
एमालेबाट आठ सदस्यमध्ये कोसीबाट रोश्नी मेचे, बागमतीमा प्रेमप्रसाद दंगाल, गण्डकीबाट सम्झना देवकोटा, लुम्बिनीबाट रामकुमारी झाँक्री, कर्णालीबाट मीनासिंह रखाल र सुदूरपश्चिमबाट लीलाकुमारी भण्डारी निर्वाचित भएका छन्। जसपा नेपालबाट महन्थ ठाकुर निर्वाचित भएका छन्।
संविधानले राष्ट्रिय सभालाई स्थायी सदनका रूपमा व्यवस्था गरेको छ। राष्ट्रिय सभाका सदस्यहरूको पदावधि ६ वर्षका लागि तोकिएको छ। ५९ सदस्य रहेको राष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट आठजना गरी ५६ सदस्य निर्वाचित हुन्छन्। बाँकी तीनजनाको मनोनयन मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट हुने व्यवस्था छ। राष्ट्रिय सभाका एकतिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुन्छ। कार्यकाल सकिनेको स्थानमा प्रत्येक दुई वर्षमा निर्वाचन भएर एकतिहाइ नयाँ सदस्य आउने व्यवस्था छ।