काठमाडौँ। मण्डला थिएटर–नेपालको स्थानीय थिएटर क्लब निर्माण तथा कचहरी नाटक कार्यशाला कार्यक्रम अन्तिम चरणमा पुगेको छ। मण्डला थिएटर–नेपालको सुदूरपश्चिम र लुम्बिनी प्रदेशका ६ वटा स्थानीय तहसँगको सहकार्यमा सम्बन्धित पालिकाहरूमा स्थानीय थिएटर क्लब गठन भइरहेका छन् भने कचहरी नाटक कार्यशालाहरू पनि समापनको चरणमा पुगेका छन्।
डडेल्धुराको आलिताल गाउँपालिका र बाजुराको त्रिवेणी नगरपालिकामा आजदेखि कचहरी नाटक प्रदर्शन सुरु हुँदैछ। अन्य चार पालिकाहरूमा पनि आगामी हप्तादेखि नाटक प्रदर्शन प्रारम्भ हुनेछ मण्डला थिएटर–नेपालले जनाएको छ। 
कार्यक्रमका लागि मण्डला थिएटर–नेपालले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका साथै काठमाडौंमा सक्रिय रंगकर्मीहरूलाई एक महिना अघि विशेष प्रशिक्षण प्रदान गरेको र प्रशिक्षणमार्फत कचहरी नाटक सहजीकरण, स्थानीय थिएटर क्लब निर्माण तथा सहभागी नाट्य अभ्यास सम्बन्धी क्षमता अभिवृद्धि गरिएको थियो।
स्थानीय समुदायका वास्तविक अनुभव, चुनौती र सरोकारका विषयहरूलाई केन्द्रमा राखेर तयार गरिएका यी कचहरी नाटकहरूले समुदायभित्र संवाद, सहभागिता र सामूहिक समाधानको खोजीलाई प्रोत्साहित गर्ने अपेक्षा गरिएको मण्डला थिएटर–नेपालले जनाएको छ।
यो कार्यक्रम मण्डला थिएटर–नेपालद्वारा सञ्चालन गरिएको “लैङ्गिक समानता, सामाजिक समावेशीकरण तथा स्वास्थ्य सचेतनाका लागि सहभागी नाटकको संस्थागत विकास” परियोजनाअन्तर्गतको पहिलो चरणको प्रमुख गतिविधि हो। उक्त परियोजना जर्मनीको सङ्घीय आर्थिक सहयोग तथा विकास मन्त्रालयको आर्थिक सहयोग तथा जीआईजेडको स्वास्थ्य क्षेत्रमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण सहयोग कार्यक्रमसँगको साझेदारीमा सञ्चालन भइरहेको हो।

कार्यक्रमको उद्देश्य सहभागी नाटकमार्फत स्थानीय युवाहरूको नेतृत्व विकास गर्नु, समुदायमा स्वास्थ्य, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धी संवादलाई प्रोत्साहित गर्नु तथा स्थानीय स्तरमा दिगो थिएटर क्लबहरूको विकास गर्नु रहेको मण्डला थिएटर नेपालले जनाएको छ।