काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समितिको बैठक आजदेखि काठमाडौँमा सुरु हुँदैछ।
धुम्बाराहीस्थित सूर्य क्याटरिङमा बिहान साढे ११ बजेदेखि बैठक सुरु हुन लागेको हो। तर बैठकका विषयमा पार्टीभित्रै विवाद देखिएको छ।
अध्यक्ष राजेन्द्र लिङ्देनले विधानविपरीत ‘अनधिकृत ढंगले एकलौटी पारामा केन्द्रीय समिति वाहिरका व्यक्तिहरूलाई बैठकमा आमन्त्रण गरेको भन्दै पार्टीभित्रको एउटा समूहले बैठक बहिष्कार गर्ने तयारी गरेको हो।
बैठकमा गत फागुन २१ गते सम्पन्न निर्वाचनमा उम्मेदवार बनेका सबै व्यक्तिहरूलाई सहभागी गराउन लागिएपछि विवाद उत्पन्न भएको हो। यस्तै एकता प्रक्रियाबाट आएका कमल थापा पक्षका ६५ जनालाई पनि सहभागी गराउन लागिएको छ।
केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्य बाहेकका अन्यलाई सहभागी गराउनु सर्वमान्य सिद्धान्त र पद्धति विपरीत रहेको असन्तुष्ट पक्षको भनाइ छ।