काठमाडौँ
००:००:००
१९ असार २०८३, शुक्रबार

१९ असार २०८३
अ+
अ-

काठमाडौँ। नेपाली कांग्रेसमा सदस्यता अद्यावधिकको समय सकिन लाग्दा इतर समूहको छलफल बाक्लिएको छ।

पन्ध्रौँ महाधिवेशनको तयारीस्वरुप कांग्रेसले पछिल्लो पटक २० असारभित्र सदस्यता अद्यावधिक सक्ने समयसीमा निर्धारण गरेको थियो। शुक्रबार (आज) राति १२ बजे उक्त समयसीमा सकिँदैछ।

यसको पूर्वसन्ध्यामा पूर्वसभापति शेरबहादुर देउवा समूह छलफलमा जुटेको छ। मध्यमार्गी नेता शेखर कोइराला र पूर्वउपसभापति पूर्णबहादुर खड्काबीच बिहीबार नै भेट भएको थियो।

सातै प्रदेशमा हालै गरिएको भेला र आगामी रणनीतिबारे छलफल गर्न खड्काको निवास गोल्फुटारमा देउवा समूहको बैठक शुक्रबार दिउँसो बोलाइएको हो।

पूर्वउपसभापति विमलेन्द्र निधिका अनुसार बैठकमा राष्ट्रिय भेलाबारे छलफल हुने छ। “सातै प्रदेशमा भेलापछि राष्ट्रिय भेला गर्ने कुराकानी भएको छ,” उनले भने, “यसबारे बैठकले आवश्यक निर्णय गर्ने छ।”

यता, संस्थापन पक्षका महामन्त्री गुरुराज घिमिरेले खड्का, कोइराला र नेता कृष्णप्रसाद सिटौलालाई भेटेर वार्ता गरेका थिए। उनले भेटपछि संस्थापनले थप वार्ता गरेको छैन।
देउवा समूहको बैठकमा कोइराला समूह भने सहभागी भएको छैन। यसअघि ३१ जेठमा कोशी प्रदेशस्तरीय भेला हुँदा देउवा समूहमा कोइराला पनि थिए।

समयसीमा सकिन लाग्दा सदस्यता व्यवस्थापन समितिको बैठक बस्ने तय भएको छ। बिहीबार साँझ ५ बजे समितिको बैठक बस्ने कार्यबाहक मुख्यसचिव कृष्ण दुलालले बताए। बैठकले सदस्यता अद्यावधिकबारे थप निर्णय लिन सक्ने दुलालले बताए।

कांग्रेसमा सदस्यता अद्यावधिकको विवाद छ। विशेष महाधिवेशनमा सहभागी नभएका देउवा र कोइराला समूह अद्यावधिक प्रक्रियामा छैनन्।