काठमाडौँ
००:००:००
१९ असार २०८३, शुक्रबार

१९ असार २०८३
अ+
अ-

सुर्खेत। कर्णाली प्रदेश सरकारले कर्णाली नदीमा खसेको फोर्स गाडीको खोजी गर्न गृह मन्त्रालयसँग अनुरोध गरेको छ। प्रदेश सरकारले गृहसँग थप सहयोग र समन्वय गर्न अनुरोध गरेको हो। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यसका लागि पत्र लेखेको छ।

बिहिबार सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको क.प्र. ०२–००१ ख १०५५ नम्बरको फोर्स दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ स्थित कर्णाली राजमार्गको साङ्गेतडा क्षेत्रमा कर्णाली नदीमा खसेको थियो।

दुर्घटना पश्चात नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय बासिन्दाको टोली तत्काल घटनास्थलमा परिचालन भई खोज तथा उद्धार कार्य सुरु गरिएको जनाइएको छ।

हालसम्म एक जना यात्रुको शव फेला परेको उल्लेख गर्दै प्रदेश सरकारले दुर्घटनाग्रस्त सवारीसाधन र त्यसमा सवार अन्य यात्रुको अवस्था अझै अज्ञात रहेको जनाएको छ।

घटनास्थलमा खटिएको जनशक्ति प्रयाप्त नभएपछि खोज तथा उद्धार कार्यलाई तीव्र बनाउन थप सहयोग तथा आवश्यक समन्वय गरिदिन प्रदेश सरकारले गृह मन्त्रालयसँग अनुरोध गरेको छ।